बन्धक रिहाइ सुनिश्चित गर्न हमाससँगको वार्ता सकारात्मक भएको इजरायली प्रधानमन्त्रीको दाबी

पुस ९, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
बन्धक रिहाइ सुनिश्चित गर्न हमाससँगको वार्ता सकारात्मक भएको इजरायली प्रधानमन्त्रीको दाबी

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा रहेका इजरायली बन्दीहरूको रिहाइ सुनिश्चित गर्न हमाससँग जारी वार्तामा प्रगति भएको बताउनुभएको छ । संसद्‍मा सम्बोधनको क्रममा प्रधानमन्त्री नेतन्याहूले बन्धकहरुको रिहाइ सुनिश्चित गर्न हमाससँगको वार्ता सकरात्मक भएको बताउनुभएको हो ।

वार्ता कहिले निष्कर्षमा पुग्छ भन्ने निश्चित भने नभएको उहाँको भनाइ छ । इजरायली सेनाले धेरै मोर्चामा ठूलो उपलब्धि हासिल गरेको र सैन्य दबाब बढाइएका कारण हमासका नेता आफ्ना अघिल्ला मागमा नरम बनेको दाबी नेतन्याहूको छ । हमासले भने गाजामा रहेका बन्धक रिहाइ, इजरायलको गाजामा सैन्य उपस्थिति र आक्रमणमा निर्भर हुने प्रतिक्रिया दिएको छ ।

हमास सैन्य समूहका प्रवक्ता अबु ओबेदाले इजरायली बन्धकको भाग्य गाजामा हुने आक्रमणमा निर्भर हुने बताउनुभएको छ । यसअघि प्यालेस्टिनी नेताले इजरायल-गाजा युद्धविराम वार्ता ९० प्रतिशत निष्कर्षमा पुगेको दाबी गरेका थिए । इजरायली प्रधानमन्त्रीको अभिव्यक्तिले पनि युद्धविराम हुन सक्ने संकेत देखाएको टिप्पणी भइरहेको छ ।

यसैबीच, इजरायलले गत जुलाईमा इरानको राजधानी तेहरानमा हमास नेता इस्माइल हानियाको हत्या गराएको स्वीकार गरेको छ । रक्षामन्त्री इजरायल काट्जले यमनमा रहेका हुथी विद्रोहीले निरन्तर इजरायललक्षित आक्रमण गरेपछि चेतावनीस्वरुप हमास नेताको हत्या गराएको स्वीकार गर्नुभएको हो ।

उहाँले हुथीविरुद्ध पनि इजरायलले सोहिप्रकारको आक्रमण गर्न सक्ने चेतावनी दिनुभयो । युद्धविराम वार्ताले गति लिएको भनिए पनि इजरायलले गाजामा भीषण आक्रमणलाई जारी राखेको छ । पछिल्लो २४ घण्टामा गाजामा इजरायली आक्रमणबाट ६० भन्दा बढीको मृत्यु भएको अलजजीराले जनाएको छ ।