आफ्नो कार्यकालमा डब्लूएचओबाट अमेरिकालाई अलग्याउने ट्रम्पको तयारी

पुस ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
आफ्नो कार्यकालमा डब्लूएचओबाट अमेरिकालाई अलग्याउने ट्रम्पको तयारी

काठमाडौं । एक स्वास्थ्य कानुन विज्ञका अनुसार ट्रम्पका टोलीका सदस्यले दोस्रो कार्यकालको पहिलो दिनमा डब्लूएचओबाट अमेरिकालाई अलग्याउने आधार तयार पारिरहेका छन् । दुई विज्ञलाई उद्धृत गर्दै ‘फाइनान्सियल टाइम्स’ले ट्रम्पको योजना सार्वजनिक गरेको हो । यसअघि सन् २०२० मा ट्रम्पले डब्लूएचओबाट अमेरिकालाई अलग्याउने प्रक्रियाको सुरुवात गर्नुभएको थियो । तर, ६ महिनापछि अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले ट्रम्पको निर्णयलाई उल्ट्याउनुभएको थियो ।

ट्रम्पले कोरोना महामारीका बेला चीनलाई जवाफदेही बनाउन असफल भएको भन्दै डब्लूएचओलाई बेइजिङको कठपुतली भएको आरोप लगाउनुभएको थियो । ट्रम्पले भने कोरोनाको जिम्मेवार चीन रहेको बताउँदै आउनुभएको छ । सोहि बेलादेखि ट्रम्प र डब्लूएचओबीच तिक्तिता बढेको हो । ट्रम्पको नयाँ निर्णयले अमेरिकको ‘विश्वव्यापी स्वास्थ्य नीति’मा नाटकीय परिवर्तन ल्याउने टिप्पणी भइरहेको छ । यस्तै नयाँ योजनाले विश्वव्यापी रुपमा महामारीसँग लड्ने अन्तर्राष्ट्रिय प्रयासबाट वाशिङ्टनलाई थप अलग्याउने छ ।

यसैबीच एक प्रेस ब्रिफ्रिङमा ट्रम्प प्रशासनको तयारीबाट कति चिन्तित हुनुहुन्छ भन्ने प्रश्नको जवाफमा डब्लूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले संगठनसँग जोडिन वा अलग्गिन अमेरिकालाई समय र ठाउँ दिन आवश्यक रहेको प्रतिक्रिया दिनुभयो ।

संगठनबाट अमेरिका फिर्ता हुने निर्णयले विश्वव्यापी रोग निगरानी र आपतकालीन प्रणालीलाई कमजोर पार्न सक्ने अनुमान गरिएको छ । ट्रम्पले डब्लूएचओका आलोचक रोबर्ट एफ केनेडी जुनियरलाई आफ्नो क्याबिनेटको शीर्ष सार्वजनिक स्वास्थ्य पदमा मनोनित गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


सम्बन्धित