सिरियाका राष्ट्रपति असदले देश छाडेको आशंका

मंसिर २३, २०८१ |हरहरि उपाध्याय
सिरियाका राष्ट्रपति असदले देश छाडेको आशंका

काठमाडौं । सिरियामा विद्रोही लडाकु समूह हयात तहरीर अल शाम एचटीएसले राजधानी दमास्कस आफ्नो नियन्त्रणमा लिएसँगै राष्ट्रपति बसर अल असद त्यहाँबाट अज्ञातस्थलतर्फ पलायन भएका छन् । दुई साताभन्दा कमको अवधिमा विद्रोहीले आश्चर्यजनक रुपमा एलेप्पो, हामा र होम्स शहरपछि राजधानी दमास्कस समेत कब्जामा लिएसँगै राष्ट्रपति असद देश छाडेर भाग्न बाध्य भएका हुन् । यससँगै असदको २४ वर्षे लामो तानाशाही शासनको अन्त्य भएको छ भने विगत १३ वर्षदेखि जारी सिरियाली गृह युद्ध पनि निर्णायक मोडमा पुगेकोछ ।

विद्रोहीको यो विजयसँगै सिरियामा राष्ट्रपति बसर अल असदको मात्र नभई सुन्नी इश्लामिक राष्ट्र सिरियामा अल्पसंख्यक अलवाईट -असद वंशको आधा शताब्दी लामो शासनको पनि अन्त्य भएकोछ । बसरका पिता हफेज अल असदले सन् १९७० को नोभेम्बर १३ मा सैन्य विद्रोहमार्फत सत्ता आफ्नो हातमा लिएर सिरिया असद युगको स्थापना गरेका थिए । १९४६ मा फ्रान्सेली उपनिवेशबाट स्वतन्त्र भएयता राजनीतिक अस्थिरता र श्रृंखलाबद्ध सैन्य कूको सामना गर्दै आएको सिरियामा अल्पसंख्यक अलवाईट सम्प्रदायका हफेजले सैन्य कू मार्फत नै सत्ता आफ्नो हातमा लिएका थिए । सन् १९७१ देखि २ हजारसम्म राष्ट्रपतिका रुपमा शासन गरेका हफेजको निधनपछि जनमत संग्रहमार्फत बसरले राष्ट्रपतिको पद सम्हालेका थिए भने २००७ मा भएको निर्वाचनबाट उनी पुनः राष्ट्रपति पदमा निर्वाचित भएका थिए । ३४ वर्षको उमेरमा राष्ट्रपति बनेका बसर अल असदबाट शुरुमा सिरियाली जनताले वर्षौंको दमनबाट उन्मुक्ति र आर्थिक उदारीकरणजस्ता थुप्रै सुधारको अपेक्षा गरेपनि समयसंगै ती सबै अपेक्षा धुमिल हुन पुगेका थिए ।

२०१० को दशकमा ट्युनिशियाबाट सुरु भएको अरब क्रान्तिको प्रभाव विस्तार भइरहँदा प्रजातन्त्रको पक्षमा दक्षिणी शहर डेरामा गरिएको शान्तिपुर्ण प्रदर्शनमा असद नेतृत्वको सरकारले व्यापक दमन गरेपछि सिरिया गृह युद्धमा धकेलिएको थियो ।

यो गृहयुद्धमा अहिलेसम्म पाँच लाखभन्दा बढी मानिस मारिएका छन् भने लाखौं विस्थापित भएका छन् । राष्ट्रपति बसर अल असद नेतृत्वको सरकार र बिद्रोही बीचको द्वन्द्व भएपनि यसमा इरान, रुस, टर्की, साउदी अरब र अमेरिका लगायतका देशले एक वा अर्को पक्षलाई सहयोग गरेपछि यो शक्ति राष्ट्रहरु बीचको छद्मयुद्धमा परिणत भएको थियो । असदलाई रुस र इरानकासाथै इरान समर्थित लेबनानी लडाकु समूह हिजबुल्लाहको समर्थन प्राप्त थियो । सन् २०२० मा टर्की र रुसको पहलमा युद्धविराम भएयता छिटपुट झडप भएपनि सिरियामा ठुलो युद्ध भएको थिएन ।

इजरायलले लेबनानमा गरेको आक्रमणबाट हिजबुल्लाह समूह निकै कमजोर बनेको, इरान पहिलेजस्तै सशक्त अवस्थामा नरहेको तथा रुस पनि युक्रेनविरुद्धको युद्धमा केन्द्रीत रहेको मौका छोप्दै विद्रोही समूह "हयात तहरिर अल शाम-एचटीएस"का नेता अबु मोहम्मद अल जोलानीले नोभेम्बरको अन्त्यमा ठुलो आक्रमण गर्ने निर्णय लिएको देखिन्छ । सुरुमा उत्तर पश्चिमी शहर एलेप्पो नियन्त्रणमा लिएको विद्रोही समूह एचटीएसले द्रुत गतिमा अघि बढ्दै क्रमशः हामा, होम्स हुँदै डिसेम्बर ८ मा दमास्कस कब्जा गरेको हो । असदका सेनाले नगन्यमात्र प्रतिकार गर्दै विद्रोही समूहलाई मार्ग प्रशस्त गरेको देखिन्छ । असद वशंको शासनको पतन भएसँगै एचटीएसको नेतृत्वमा सिरियामा शान्ति बहाली हुन्छ कि पहिलेजस्तै क्षेत्रीय र विश्व शक्ति राष्ट्रको स्वार्थमा जेलिएर थप द्वन्द्वतर्फ धकेलिन्छ यसै भन्न सकिने अवस्था छैन ।


Image

हरहरि उपाध्याय

उपाध्याय कान्तिपुर टेलिभिजनको अन्तर्राष्ट्रिय ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement