काठमाडौं । सिरियामा विद्रोहीले उत्तर पश्चिमको दोस्रो महत्त्वपूर्ण शहर हामा पूर्ण रूपमा आफ्नो कब्जामा लिएको बताएका छन् । सरकारी सेना पछि हटे लगत्तै विद्रोहीले सो शहर नियन्त्रणमा लिएका हुन् ।
इस्लामिक लडाकु समूह 'हयात तहरीर अल शाम-एचटीएस’ का नेता मोहम्मद अल जलानीले हामा शहरमाथि विजयको घोषणा गर्नुका साथै त्यहाँका बासिन्दामाथि कुनै बदलाको कारबाही नगर्ने बताएका छन् । यसअघि एचटीएसका लडाकु र उसका सहयोगी समूहले हामाको केन्द्रीय कारागार आफ्नो नियन्त्रणमा लिनुका साथै त्यहाँ रहेका सबै कैदीलाई मुक्त गरेका थिए । सरकारी सेनाले पनि आफ्ना सैनिक शहर बाहिर परिचालित गरिएको भन्दै त्यहाँबाट बाहिरिएको जनाएको थियो ।
गत साता मात्रै विद्रोही लडाकुले अप्रत्याशित आक्रमण गर्दै अर्को महत्त्वपूर्ण शहर एलेप्पो आफ्नो नियन्त्रणमा लिएका थिए । एक साताको अवधिमै दुई महत्त्वपूर्ण शहर विद्रोहीको नियन्त्रणमा जानु राष्ट्रपति बसर अल असदका लागि अर्को ठूलो झट्का भएको विश्लेषण गरिएको छ । एलेप्पोबाट एक सय १० किलोमिटर दक्षिणमा पर्ने हामा शहरमा करीब १० को लाख मानिसको बसोबास रहेको छ ।
हामा नियन्त्रणमा लिइसकेपछि विद्रोही कमान्डरले त्यसको दक्षिणमा पर्ने अर्को शहर होम्सका बासिन्दालाई अब उनीहरूको पालो आएको भन्दै चेतावनी दिएका छन् । सन् २०२० मा टर्की र रूसको पहलमा युद्धविराम भए यता शान्तप्रायः बसेको विद्रोही समूह गत सातादेखि पुन: जुर्मुराएको हो । विगतमा विद्रोहीलाई दबाउन राष्ट्रपति असद आफ्ना साझेदार देशहरू रूस र इरानमाथि भर पर्दै आउनु भएको थियो । तर दुवै देश आआफ्नै द्वन्द्वमा फसेकाले विद्रोहीको अहिलेको उत्थानलाई रोक्न असदलाई कठिन पर्ने देखिएको छ ।
रूसी सेनाको हवाई आक्रमण र इरान समर्थित लडाकु समूहको सहयोगका बावजुद पनि सरकारी सेना हामा शहरलाई विद्रोहीको नियन्त्रणमा जानबाट जोगाउन असफल भएको हो । सन् २०११ मा प्रजातन्त्र पक्षधर प्रदर्शनमाथि असद सरकारले गरेको दमनबाट शुरू भएको सिरियाली गृहयुद्धमा अहिलेसम्म पाँच लाखभन्दा बढी मानिस मारिइसकेका छन् ।