दक्षिण कोरियाका राष्ट्रपति यूनलाई पद छाड्न आफ्नै पार्टीको निर्देशन

महाअभियोग प्रस्तावको भने सामना गर्ने
सेना प्रमुख पार्कद्वारा राजीनामा
मंसिर २०, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
दक्षिण कोरियाका राष्ट्रपति यूनलाई पद छाड्न आफ्नै पार्टीको निर्देशन

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति यून सुक–योलको पार्टी ‘पीपल पावर’ले संसद्‍मा राष्ट्रपतिविरुद्ध विपक्षी दलले ल्याएको महाभियोग प्रस्तावको सामना गर्ने स्पष्ट पारेको छ । राष्ट्रपति यूनले मंगलबार अप्रत्याशित रुपमा संकटकालीन सैन्य कानुन लागु गरेको घोषणा गर्नुभएको थियो । लगत्तै जनविरोध र संसद्को मतदानले अमान्य ठहर गरेपछि राष्ट्रपतिले घोषणा फिर्ता लिनुभएको थियो ।

‘सैन्य कानुन’ लागु गर्ने निर्णय फिर्ता लिएको घोषणा गरे पनि ६ वटा विपक्षी दलले राष्ट्रपतिविरुद्ध संसद्‌मा महाभियोगको प्रस्ताव दर्ता गराएका छन् । जसको मतदान शनिबार हुनेछ । प्रस्ताव विपक्षीले ल्याए पनि त्यसलाई पास गर्न सत्तारुढ दलका आठ सांसदको सहयोग चाहिन्छ । तर सत्तारुढ दलले महाभियोग प्रस्तावको सामना गर्ने बताएको हो ।

पार्टीका प्रमुख हान डोङ–हुनले महाभियोग प्रस्ताव रोक्न आफ्ना सहयोगीलाई एकजुट गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । महाभियोग प्रस्ताव पारित भए देशमा अराजकता निम्तिने भन्दै त्यसलाई पारित हुन रोकिने उहाँको भनाइ छ । हानले महाभियोगको विरोध गर्नुको अर्थ ‘मार्सल ल’ लागु गर्ने राष्ट्रपतिको प्रयासलाई पार्टीले समर्थन भने नगरेको स्पष्ट पार्नुभयो । उहाँले असंवैधानिक ‘मार्सल ल’मार्फत राष्ट्रलाई अस्थिर बनाउने र जनतालाई आतंकित पार्ने जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउनुपर्ने भन्दै राष्ट्रपतिलाई पार्टी छाड्न समेत भनेको बीबीसीले जनाएको छ ।

यता सत्तारुढ दलका पाँच सांसदले पत्रकार सम्मेलन गर्दै राष्ट्रपति युनलाई क्षमा माग्न सुझाव दिएका छन् । उनीहरुले राष्ट्रपतिविरुद्ध ल्याइएको महाभियोग प्रस्तावमा मतदान गर्ने वा नगर्ने विषयमा आफूहरु अनिर्णित रहेको पनि बताएका छन् । यसैबीच राष्ट्रपतिले लागु गरेको ‘मार्सल ल’ले विद्रोह निम्त्याएको आरोपमा कोरियाली पुलिसले अनुसन्धान थालेको छ ।

यता राष्ट्रपतिलाई मार्सल ल लगाउन प्रेरित गरेको आरोप लागेपछि सेना प्रमुख पार्क अन–सुले राजीनामा दिनुभएको छ ।राजनीतिक अस्थिरताकै कारण कोरियाली सेयर मार्केटमा गिरावट आएको छ । राजधानी सियोलमा राष्ट्रपतिको पक्ष र विपक्षमा प्रदर्शनसमेत भइरहेका छन् ।



Enter Kantipur TV HD
Advertisement