अस्ट्रेलियाद्वारा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित

मंसिर १४, २०८१ |अन्तर्राष्ट्रिय ब्युरो
अस्ट्रेलियाद्वारा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयक पारित

काठमाडौं । अस्ट्रेलियाको संसद्ले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने सम्बन्धी विधेयक पारित गरेको छ । संसद्को माथिल्लो सदन सिनेटले बिहिबार राति अबेर १९ का विरुद्ध ३४ मतले यो विधेयक पारित गरेको हो ।

यसअघि बुधबार संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सले १३ का विरुद्ध एक सय दुई मतले सो विधेयक पारित गरेको थियो । कुनै पनि देशले पारित गरेको यस किसिमको विश्वकै पहिलो कानुन हो । यसले विश्वका अन्य देशका लागि एउटा मानक स्थापना गर्ने विश्लेषण गरिएको छ ।

बालबालिकालाई सामाजिक सञ्जालको प्रयोग गर्नबाट रोक्न वैश्विक रूपमा गरिएको यो पहिलो प्रयास भने होइन । तर सामाजिक सञ्जाल प्रयोग गर्ने उमेर न्यूनतम १६ तय गरिएको र अभिभावकको सहमतिमा समेत प्रयोग गर्न नपाउने व्यवस्था राखिएको यो पहिलो अभ्यास हो । प्रतिबन्धित उमेरका व्यक्तिको पहुँच सामाजिक सञ्जालसम्म नहोस् भन्ने कुरा सुनिश्चित गर्ने दायित्व सामाजिक सञ्जाल प्लेटर्फमका कम्पनीहरूको हुने र यसको उल्लंघन गर्ने कम्पनीलाई तीन करोड २५ लाख अमेरिकी डलरसम्मको जरिवाना हुने व्यवस्था कानूनमा गरिएको छ । यो नियमको उल्लंघन गर्ने बालबालिका भने दण्डित गरिने छैन ।

यो कानुन एक वर्षपछि अर्थात २०२५ को नोभेम्बरदेखि कार्यान्वयनमा आउनेछ । यसअघि सरकारले प्रतिबन्धको प्रभावकारी कार्यान्वयनका लागि बायोमेट्रिक्स र सरकारी पहिचानपत्र जस्ता उमेर प्रमाणीकरण प्रणालीको परीक्षण गर्नेछ । यो परीक्षणमा महिनौं लाग्ने र आगामी वर्षको मध्यतिर त्यसको समीक्षा गरिने जनाइएको छ ।

विधेयकले कुन सामाजिक सञ्जाल प्लेटफर्मको प्रयोगमा प्रतिबन्ध लाग्ने भन्ने कुरा उल्लेख नगरे पनि स्नापच्याट, फेसबुक, इन्स्टाग्राम, रेडिट र एक्स जस्ता प्लेटफर्म यसमा समेटिने बताइएको छ । गेमिङ र म्यासेजिङ प्लेटफर्म यसमा समेटिने छैनन् भने शैक्षिक उद्देश्यलाई ध्यानमा राख्दै यूट्युब पनि प्रतिबन्धभित्र नपर्ने बताइएको छ ।



Enter Kantipur TV HD
Advertisement