पाकिस्तानमा आत्मघाती आक्रमणमा परी १२ सैनिकको मृत्यु, ६ आतंककारी मारिए

मंसिर ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाकिस्तानमा आत्मघाती आक्रमणमा परी १२ सैनिकको मृत्यु, ६ आतंककारी मारिए

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित सैन्य पोस्टलाई लक्षित गर्दै भएको आत्मघाती आक्रमणमा १२ सैनिकको मृत्यु भएको छ ।

आतंककारी समूहले खैबर पख्तुनख्वा प्रान्तमा रहेको सैन्य पोस्टमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्काएपछि ठूलो विस्फोट भएको र त्यसमा १२ सैनिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

बिस्फोटपछि आतंककारीहरुले सैन्य पोस्टमा गोली प्रहार गरेको समेत बताइएको छ । आक्रमणमा सात जना घाइते भएका छन् । हमलापछि पाकिस्तानी सेनाले गरेको जवाफी कारबाहीमा ६ आतंककारी मारिएको बताइएको छ । आक्रमणको इस्लामिक आतंकवादी समूह हाफिज गुल बहादुरले जिम्मेवारी लिएको जनाइएको छ । 

एक दिन अघिमात्र सोही क्षेत्रमा आतंककारी हमलामा ८ सैनिकको मृत्यु भएको थियो । बुधबार मात्रै पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले बलुचिस्तान प्रान्तमा पृथकतावादी विद्रोहीविरुद्ध नयाँ सैन्य कारबाहीको घोषणा गर्नुभएको थियो । उक्त प्रान्त खैबर पख्तुनख्वासँग सीमा जोडिएको र चिनियाँ बेल्ट एन्ड  रोड इनिसिएटिभ्स (बीआरआई) को केन्द्र हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.