काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नागरिकको ढाड सेक्ने गरी मनपरी हवाई भाडा बढाउने निजी वायुसेवा कम्पनीमाथि छानबिन गरी कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
हवाई भाडा वृद्धिका विषयमा नागरिक उड्डयन प्राधिकरण र हवाई कम्पनीका प्रतिनिधिहरुसहितको बैठकमा मन्त्री पाण्डेले हवाई टिकट सहज र सुलभ ढंगले उपलव्ध गराउने सहमति विपरीत मनपरी भाडा वृद्धि गरिएको भन्दै कारवाहीको चेतावनी दिनुभएको हो । उहाँले भोलि ४ बजेसम्म हवाई भाडाको सबै विवरण पेश गर्नसमेत निर्देशन दिनुभयो ।
बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले निजी वायुसेवा कम्पनीहरुले हवाई टिकटमा लुट नै मच्चाएको आरोप लगाउनुभयो । उहाँले वायुसेवा सञ्चालकहरुले भाडा सूची सार्वजनिक गर्ने र ट्राभल्स एजेन्सीलाई टिकट बिक्रीको अधिकार हस्तान्तरणको व्यवस्था खारेज गर्ने सहमतिसमेत कार्यान्वयन नगरेकोमा आक्रोस व्यक्त गर्नुभयो ।
छलफलमा सहभागी निजी वायुसेवा कम्पनीका प्रतिनिधिहरुले भने अहिलेको सिजनमा सधैं हवाई भाडा वृद्धि हुने गरेको भन्दै पन्छिएका थिए । सरकारसँग भाडा घटाउने सहमति कार्यान्वयन नगरेको विषयमा भने उनीहरु बोल्न चाहेनन् ।