भारतको महाराष्ट्र र झारखण्ड राज्यमा आज विधानसभा चुनाव हुँदै, मतदान जारी

मंसिर ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतको महाराष्ट्र र झारखण्ड राज्यमा आज विधानसभा चुनाव हुँदै, मतदान जारी

काठमाडौं । भारतको महाराष्ट्र र झारखण्ड राज्यमा आज विधानसभा निर्वाचन अन्तर्गत मतदान भइरहेको छ ।

महाराष्ट्रका सबै २ सय ८८ र झारखण्डमा दोस्रो चरण अन्तर्गत विधानसभाका कुल ८१ सिटमध्येका बाँकी ३८ सिटका लागि मतदान भइरहेको हो । दुवै राज्यको मतगणना दुई दिनपछि अर्थात् २३ नोभेम्बरमा गरिनेछ । यी दुवै विधानसभा निर्वाचनमा भाजपा नेतृत्वको गठबन्धनका साथै विपक्षी गठबन्धनको प्रतिष्ठा दाउमा रहेको जनाइएको छ ।

महाराष्ट्रमा उद्धव ठाकरे नेतृत्वको शिवसेना र एकनाथ शिंदे नेतृत्वको शिवसेनाका साथै शरद पवारको नेशनालिष्ट कांग्रेस पार्टी र अजित पवारको नेशनालिष्ट कांग्रेस पार्टीबीच असली र नक्कलीको लडाइँ छ ।

एकनाथ शिंदेले शिवसेना टुक्र्याएर आफनो नेतृत्वमा शिवसेना शिन्दे "एसएचएस" बनाएका हुन् भने अजित पवारले नेशनालिष्ट कांग्रेस पार्टी– एनसीपी टुक्र्याएर "एनसीपी एपी" बनाएका हुन् । हाल महाराष्ट्रमा दुई ठूला क्षेत्रीय राजनीतिक गठबन्धन छन् । भाजपा, एकनाथ शिंदेको शिवसेना र अजित पवारको नेशनालिष्ट कांग्रेस सहितको महायूति गठबन्धन सत्तामा छ भने विपक्षी गठबन्धन महाविकास आघाडीमा शरद पवार नेतृत्वको नेशनालिष्ट कांग्रेस पार्टी, उद्धव ठाकरेको शिवसेना र भारतीय राष्ट्रिय कांग्रेस छन् ।

पूर्व क्रिकेटर सचिन तेन्दुलकरदेखि लिएर चर्चित अभिनेताहरु अक्षय कुमार, राजकुमार राव, रितेश देशमुख, जोन इब्राहिम, फरहान अख्तर लगायतले बिहानै मतदान गरेका छन् । बिहान सात बजे शुरु भएको मतदान साँझ ६ बजेसम्म चल्नेछ । २ सय ८८ सिटका लागि ४ हजार एकसय ३६ उम्मेदवार मैदानमा छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.