इलोन मस्कको कम्पनी स्पेस एक्सद्वारा शक्तिशाली रकेट स्टारसिपको छैटौं परीक्षण उडान

मंसिर ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
इलोन मस्कको कम्पनी स्पेस एक्सद्वारा शक्तिशाली रकेट स्टारसिपको छैटौं परीक्षण उडान

काठमाडौं । विश्वका सबैभन्दा धनाढ्य व्यक्ति इलोन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सले आफ्नो शक्तिशाली रकेट स्टारसिपको छैटौं परीक्षण उडान गरेको छ ।

दक्षिणी टेक्ससबाट गरिएको यो परीक्षणको अवलोकन गर्न यसपटक अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्प पनि मस्कसँगै हुनुहुन्थ्यो । स्टारसिपको प्रक्षेपणको अवलोकन गर्न ट्रम्प र मस्क दुवै जना टेक्ससको ब्राउनस्भिले नजिकै रहेको स्पेस एक्सको परीक्षण स्थल पुगेका थिए । स्थानीय समयअनुसार दिउँसो ५ बजेपछि सो रकेट प्रक्षेपण गरिएको थियो तर यसपटक सुपर हेभी नाम दिइएको रकेटको फस्ट स्टेज बुस्टरलाई लन्च टावरमै फिर्ता अवतरण गराउनुको साटो स्पेस एक्सले यसलाई मेक्सिकोको खाडीमा अवतरण गराएको थियो ।

अन्तिम समयमा आएर लन्च टावरमै फिर्ता गर्ने योजना त्याग गरिएको सीएनएनले जनाएको छ । गत अक्टोबरमा गरिएको पाँचौं परीक्षणमा स्टारसिप रकेटको अति भारी फस्ट स्टेज बुस्टरलाई प्रक्षेपण केन्द्रको लन्च टावरमै फिर्ता समातेर स्पेस एक्सले विश्वको ध्यान आफूतर्फ आकर्षित गरेको थियो । बुस्टर लाई आकाशमै समाप्त दुई ठूला रोबोटिक हातको प्रयोग गरिएको थियो । फस्ट स्टेज बुस्टर पुन प्रयोगमा ल्याउन सकिने यो सफलताले अन्तरिक्ष यान प्रक्षेपणको लागतलाई निकै कम गर्ने विश्वास गरिएको छ ।

स्टारसिपको माथिल्लो भाग अर्थात "स्टारसिप अन्तरिक्ष यान" भने पृथ्वीको एक चक्कर लगाएर इण्डियन ओसियनमा अवतरण गरेको थियो । स्पेस एक्सले आफनो अन्तरिक्ष अभियान स्टारसिपलाई मानिसहरुलाई चन्द्रमा र मंगल ग्रहसम्म पुर्‍याउन प्रयोग गर्ने लक्ष्य राखेको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले पनि २०२६ सम्ममा चन्द्रमामा अमेरिकी अन्तरिक्ष यात्रीलाई अवतरण गराउने योजनाका लागि स्टारसीपलाई नै प्रयोग गर्ने भएको छ ।

स्टारसिप अहिलेसम्म बनेकामध्ये सबैभन्दा ठूलो र भारी रकेट हो भने यसलाई पुन प्रयोग गर्न सकिने सवारी साधनका रुपमा विकसित गरिएको छ । स्टारसिपको परिक्षण प्रक्षेपण अवलोकन गर्न मस्कसँगै ट्रम्प पनि पुग्नुले यी दुईबीचको गहिरिंदो मित्रतालाई प्रदर्शित गर्दछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.