काठमाडौं । भारतको राजधानी दिल्ली र यस वरिपरिको क्षेत्रमा वायु प्रदूषणको मात्र थप भयावह हुँदै गएको छ । आज बिहान दिल्ली र यसको वरिपरिका क्षेत्रमा बाक्लो तुवाँलो लागेको र केही क्षेत्रमा वायु गुणस्तर सूचकाङ्क "एक्यूआई" ५ सयभन्दा माथि मापन गरिएको भारतीय समाचारमाध्यमले जनाएका छन् ।सामान्यतया १५०भन्दामाथिको "एक्यूआई" अस्वस्थ मानिन्छ ।
बिहान ६ बजे दिल्लीको औसत एक्यूआई ४ सय ९४ मापन गरिएको थियो भने मौसम विभागले लगातार दोस्रो दिन बाक्लो तुवाँलो लाग्ने भन्दै 'अरेन्ज अलर्ट' जारी गरेको छ । विषाक्त तुवाँलोले 'भिजिबिलिटी' निकै कम भएपछि थुप्रै रेल र हवाई उडान रद्द गरिएको जनाइएको छ । दिल्ली, अमृतसर र चण्डीगढमा लागेको बाक्लो तुवाँलोका कारण हवाई यातायात प्रभावित भएको इण्डिगो एयरले जनाएको छ ।
सोमबारदेखि दिल्ली सरकारले दिल्लीमा वायु प्रदूषण नियन्त्रण योजना अन्तर्गतको चौथो तहको प्रतिबन्ध लागु गरेको छ । यसअघि तेस्रो तहको प्रतिबन्ध लगाइँदै आइएको थियो । चौथो तहको प्रतिबन्ध अन्तर्गत दिल्लीमा दर्ता भएका पुरोनो मोडेलका डिजेल सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।
दिल्ली बाहिर दर्ता रहको सबैखाले ट्रक र हलुका व्यापारिक सवारी साधनलाई अत्याधिक आवश्यक सामग्री वा सेवाको उद्देश्य बाहेक राजधानी प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।
यसका साथै सबै सरकारी र निजी कार्यालयहरुलाई ५० प्रतिशत क्षमतामा मात्रै काम गर्न र बाँकीलाई घरबाटै काम गराउन आदेश दिइएको छ । दिल्लीकी मुख्यमन्त्री आतिशी सिंहले कक्षा १२ सम्मका सबै कक्षा स्थगित गरिएको र अनलाईनमार्फत सञ्चालन गर्न निर्देशन दिइएको बताउनु भएको छ ।
कक्षा ५ सम्मका सबै विद्यालयहरुलाई यसअघि नै बन्द गरी अनलाइनमा लगिएको थियो । दिल्ली विश्वविद्यालय र जवाहरलाल नेहरु विश्वविद्यालयले पनि नोभेम्बर २२ सम्म अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेका छन् ।
भारतमा मात्र नभई पाकिस्तानको पन्जाब राज्यमा पनि वायु प्रदूषणले केही सातादेखि जनजीविका प्रभावित रहँदै आएको छ । पन्जाब सरकारले दुई मुख्य सहर लाहोर र मुल्तानमा आपतकालको घोषणा गरेको छ भने गत शुक्रबारदेखि आइतबारम्म यी सहरमा पूर्ण लकडाउनको आदेश दिएको थियो ।