काठमाडौं । नक्कली कागजात बनाएर विदेश जान खोज्ने नेपाली हुन् अथवा नेपाल आएर अपराध गर्ने विदेशी दुवैले अध्यागमन प्रणालीको व्यापक दुरुपयोग गरिरहेको देखिएको छ । मानव तस्करको प्रलोभन परेर विदेश जान खोज्ने नेपालीहरु विमानस्थलबाटै फर्काइएका छन् भने नेपाल आएर अपराध गर्ने विदेशी पनि देश निकालामा परेका छन् । त्यति मात्र नभएर पछिल्लो १० महिनामै १ हजार ४८ जना नेपाली डिपोर्ट भएर फर्किएका छन् ।
भिजिट भिसाका नाममा बिचौलियाको प्रलोभनमा गलत कागजात बोकर विदेश उड्न लागेकाहरुलाई अध्यागमन कार्यालयले दिनहुँजसो फिर्ता गरिहरेको हुन्छ ।
मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ हजारभन्दा बढी व्यक्तिको आवातजावत चलिरहँदा अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजाल आफ्नो कार्यकक्षमा बसेर विवरण लिँदै हुनुहुन्थ्यो । दिउँसो करिब ३ बजेसम्म ६० जना नेपालीलाई विमानस्थल अध्यागमनले फिर्ता गरिसकेको थियो । यो क्रम दैनिक चलिरहेको छ ।
नेपालबाट भिजिट भिसामा दुबई, थाइल्याण्ड र श्रीलंका लैजाने र त्यहाँबाट तेस्रो देश पठाउने गिरोहले नेपालीलाई कहाँ पुर्याउँछन् ठेगान छैन । घुम्न जानेको आर्थिक अवस्थादेखि फर्किने टिकटसम्म हुन्छ । तर, बिचौलियाको फन्दामा परेकाहरुलाई कहाँ घुम्ने थाहा नै हुँदैन ।
सन् २०२४ को जनवरीदेखि अहिलेसम्म पूरा कागजात नबोकी तेस्रो देश जान खोज्ने ७ हजार ९ सय जनालाई अध्यागमन कार्यालयले फिर्ता गरिदिएको तथ्यांक छ । सम्बन्धित देशमा पुगेर अलपत्र पर्ने र जोखिममा पर्ने भएपछि अध्यागमन कार्यालयले रोक्दै आएको हो । अब त्रिभुवन विमानस्थलको बाहिर नै भिजिट भिसामा जान खोज्नेहरुको कागजात परीक्षण गर्ने संयुक्त डेस्क राख्ने अध्यागमन विभागको तयारी गरिरहेको विभागका महानिर्देशक गोविन्द रिजालको भनाइ छ ।
त्यसो त नक्कली कागजात बनाएर विदेश जान खोज्नेहरु मात्रै फिर्ता भएका छैनन् । नेपालबाट उडेर पनि गन्तव्य देशले फर्काइदिएकाहरुको तथ्यांक पनि कम छैन ।
बिचौलियाको योजनाअनुसार नेपालको संयन्त्र छलेर विदेश पुगेकाहरु पनि फिर्ता भएका छन् । पछिल्लो १० महिनामा १ हजार ४८ जना नेपाली विभिन्न देशबाट डिपोर्ट भएर फर्काइएका छन् । त्यसमा इन्टरपोलले पक्राउ गरेकादेखि नक्कली कागजात लिएर जानेहरुसम्म छन् ।
सहज भिषा र अध्यागमन प्रणालीको प्रयोग गरेर नेपाल आएका विदेशीहरु त झन् सुरक्षा चुनौती बनिरहेका छन् । अपराध तथा गैरकानुनी गतिविधिमा संलग्न २ सय ७४ जना विदेशीलाई नेपालबाट निकाला गरिएको छ । पूर्व डीआईजी राजेश बाँस्तोला विमानस्थलबाट फिर्ता गरिएका हुन् वा तेस्रो देश पुगेर निकालिएका नेपालीहरु अथवा नेपालले निस्काशन गरेका विदेशीको तथ्यांकले पनि अध्यागमनको सुरक्षा प्रणाली संवेदनशील बन्दै गएको प्रष्ट हुने बताउनु हुन्छ ।
यता, भारतको खुला सिमानाको दुरुपयोग अन्तरदेशीय अपराधका लागि उत्तिकै जोखिम बनिरहेको छ । त्यसमाथि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत सुरक्षा चुनौती थपिनेछ । नेपाल आएका तेस्रो देशका नागरिकको निगरानी र नेपालबाट विदेशिने नेपालीहरु दुवैको सुरक्षाका लागि थप सतर्कता आवश्यक रहेको अध्यागमन विभागको ठम्याइ छ ।
विमानस्थल होस् वा स्थल नाका दुवै अन्तर्राष्ट्रिय सिमाना राष्ट्रिय सुरक्षाका लागि सबैभन्दा जोखिममा रहने गर्छन् । त्यसैले बिचौलियाको फन्दामा परेर विदेश पुग्न खोज्ने नेपालीको सुरक्षा र अध्यागमन प्रणाली दुवैका लागि प्रभावकारी योजना बनाएर लगानी गर्नुपर्छ । नागरिकहरु पनि जानीजानी जोखिम मोलेर भिजिट भिसामा वा नक्कली कागजातका आधारमा विदेश गएर काम गर्दा बेचबिखनदेखि श्रम शोषणसम्ममा परिरहेका छन् ।