तीन पटकको सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितको प्रदर्शन, प्रहरीले गर्‍यो लाठीचार्ज

मंसिर ५, २०८१ |भरत रावल
तीन पटकको सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितको प्रदर्शन, प्रहरीले गर्‍यो लाठीचार्ज

काठमाडौं । सरकारसँग ३ पटक सम्झौता गरिसक्दा समेत माग सम्बोधन नभएको भन्दै सहकारीपीडित पुनः अन्दोलनमा उत्रिएका छन् । बचत रकम फिर्ताको माग गर्दै आज काठमाडौंमा प्रदर्शनमा उत्रिएका सहकारीपीडितलाई प्रहरीले लाठी प्रहार गर्दा केही प्रदर्शनकारी घाइते समेत भए ।

सहकारीमा बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग गर्दै पीडितहरु प्रदर्शनमा उत्रेका हुन् । थापाथलीतर्फबाट प्रदर्शनमा उत्रिएका सहकारीपीडितको जुलुस माइतीघर नजिकै पुगेर अघि बढ्न खोज्दा प्रहरीले रोकेपछि झडप भएको थियो । प्रहरीको लाठीचार्जबाट केही प्रदर्शनकारी घाइते भएका छन् ।

सहकारी बचतकर्ताको पौने ३ खर्ब लुटिएको उल्लेख गर्दै उनीहरुले देशभरका सहकारपीडितलाई एक हुन आह्वान गरेका छन् । गत भदौ २३ गते सहकारी मन्त्रालयका सचिव अर्जुन पोखरेलसँग ५ बुँदे सम्झौता गरेर तेस्रो पटकको आन्दोलन स्थगित गरेका पीडितले सम्झौता कार्यान्वयन गर्न सरकारले कुनै चासो नदेखाएको गुनासो गरे ।

पीडिहरुले पहिलो पटक २०८० साउन १८ गते तत्कालीन सहकारीमन्त्री रञ्जिता श्रेष्ठसँग ८ बुँदे सहमति गरेर ६३ दिनको आन्दोलन स्थगित गरेका थिए । त्यसपछि २०८० चैत ८ गते सहकारी मन्त्री बलराम अधिकारीसँग ७ बुँदे सम्झौता गरेर ३८ दिनको आन्दोलन स्थगन गरे । 

त्यसैगरी, २०८१ भदौ ३२ गते सहकारी सचिव अर्जुन पोखरेलसँग ५ बुँदे सम्झौता गरेर १ सय ८ दिन लामो आन्दोलन स्थगन गरेका थिए । तर, अहिलेसम्म कुनै पनि सम्झौता कार्यान्वयन नभएको भन्दै पीडितहरु पुनः आन्दोलनमा उत्रिएका हुन् ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement