किएभलाई सहयोग जारी राख्ने जी-२० सम्मेलनमा राष्ट्रपति बाइडेनको प्रतिवद्धता

मंसिर ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
किएभलाई सहयोग जारी राख्ने जी-२० सम्मेलनमा राष्ट्रपति बाइडेनको प्रतिवद्धता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई अमेरिकी सरकारले सहयोग जारी राख्ने प्रतिबद्धता दोहोर्‍याउनुभएको छ ।

युक्रेनलाई रुसको भित्री भागसम्म मार हान्न लोमो दुरीको मिसाइल प्रयोगको अनुमति दिने खबर बाहिरिएपछि ब्राजिलको रियो दि जेनेरियोमा जारी जी-२० सम्मेलनमा बाइडनले सहयोगको प्रतिबद्धता दोहोर्‍याउनुभएको हो ।

जी-२० सम्मेलनको सत्रमा बोल्दै बाइडनले विश्वभरको सुरक्षा सुधारको प्रगतिलाई ध्वस्त पार्ने द्वन्द्व र संकटको अन्त्य गर्न मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

अमेरिकाले युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई दृढतापूर्वक समर्थन गर्ने र जी-२० मुलुकका सम्पूर्ण नेताले पनि समर्थन गर्ने विश्वास रहेको उहाँको भनाइ छ ।

सम्मेलनमा बोल्दै बाइडनले इजरायल-गाजा युद्धबिरामका लागि हमासमाथि दबाब सिर्जना गर्न विश्वका आर्थिक सम्पन्न राष्ट्राध्यक्षहरुलाई आग्रहसमेत गर्नुभएको एपीले जनाएको छ । राष्टसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीन फिल्डले युक्रेनलाई अगामी दिन अमेरिकाले थप सहयोग गर्ने बताउनुभएको छ ।

यसैबीच, जर्मनीले युक्रेनलाई लामो दुरीको मिसाइल प्रयोगको अनुमति नदिने आफ्नो अडानमा कायम रहेको बताएको छ । जर्मनी चान्सलर ओलाफ स्कोल्जले आफूहरुले नीति परिवर्तन नगर्ने स्पष्ट पार्नुभएको हो ।

अमेरिकापछि युक्रेनलाई सबैभन्दा बढी हातहतियार सहयोग गर्ने देशमा जर्मनी छ । जर्मनीले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईबाट निर्देशित चार हजार ड्रोन युक्रेनलाई दिने बताइएको छ ।

जी-२० सम्मेलन हिजोबाट ब्राजिलमा सुरु भएको छ । जहाँ युरोपियन युनियनसहित २० आर्थिक सम्पन्नता भएको देशका राष्ट्राध्यक्षहरु भेला भएका छन् । सम्मेलन मुख्यत: वैश्विक अर्थव्यवस्था, जलवायु परिवर्तन, गरिबी निवारण र भोकमरीविरुद्ध लड्ने विषयमा केन्द्रित छ । विश्वका गरिब मुलुकलाई उकास्न बाइडनले वल्ड्र बैंकको अन्तर्राष्ट्रिय विकास संगठनलाई ४ अर्ब अमेरिकी डलर दिने घोषणा गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.