युक्रेनले क्षेप्यास्त्र प्रहार गरे अमेरिकाकै आक्रमणका रुपमा लिने रुसको चेतावनी

मंसिर ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
युक्रेनले क्षेप्यास्त्र प्रहार गरे अमेरिकाकै आक्रमणका रुपमा लिने रुसको चेतावनी

काठमाडौं । राष्ट्रपति जो बाइडनले युक्रेनलाई अमेरिकाले दिएका लामो दुरीको मार हान्ने क्षेप्यास्त्र रुसी भू-भागमा प्रहार गर्न स्वीकृति दिएको खबर बाहिरिएसँगै रुस अमेरिका तनाव बढ्ने संकेत देखा परेको छ ।

रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले विज्ञप्ति जारी गर्दै बहिर्गमन उन्मुख बाइडनले रुस युक्रेन द्वन्द्वको आगोमा घ्यु थप्ने काम गर्न खोजेको भन्दै कडा प्रतिवाद जनाएको छ ।

अमेरिकाले आपूर्ति गरेको क्षेप्यास्त्र रुसभित्र प्रहार गरिए मस्कोले यसलाई युक्रेनले गरेको आक्रमणका रुपमा नभई अमेरिका आफैंले गरेको आक्रमणका रुपमा लिने विज्ञप्तीमा उल्लेख छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्रि पास्कोभले यदी यस्तो निर्णय लिइएको भए यसले तनावको नयाँ श्रृंखला सुरु गर्ने चेतावनी दिनुभएको छ । राष्ट्रपति पुटिन स्वयंका तर्फबाट भने यसबारे कुनै प्रतिक्रिया आइसकेको छैन् ।

अमेरिकी सरकारले यो खबरको पुष्टि नगरे पनि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने क्षेप्यास्त्रहरुले आफ्नो बारेमा आफै बोल्ने भन्दै घुमाउरो भाषामा यसको पुष्टि गर्नुभएको छ । युक्रेनविरुद्धको युद्धमा सघाउन करिब ११ हजार उत्तर कोरियाली सेना रुसमा परिचालित भएको जवाफ स्वरुप अमेरिकाले एकाएक आफ्नो नीतिमा परिवर्तन गरेको बताइएको छ ।

अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार बाइडनले अमेरिकाले करिब एक वर्षअघि नै युक्रेनलाई उपलब्ध गराएको लामो दुरीको मार हान्ने "आर्मी ट्याक्टिकल मिसाइल सिस्टम- "एटीएसीएमएस" क्षेप्यास्त्र रुसविरुद्ध प्रयोग गर्न अनुमति दिनुभएको हो । यो क्षेप्यास्त्रले ३ सय किलोमिटरको दुरीसम्म मार हान्न सक्छ । यसअघि अमेरिकाले यो क्षेप्यास्त्र रुसी सेनाले कब्जा जमाएको युक्रेनी भू-भागभित्र मात्र प्रयोग गर्न अनुमति दिएको थियो ।

यसैबीच नवनिर्वाचित अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पका छोरा डनल्ड ट्रम्प जुनियरले ट्विट गर्दै आफ्ना पिताले शान्ति स्थापना र जीवन बचाउने अवसर पाउनुअघि नै बाइडन प्रशासनले तेस्रो विश्वयुद्ध सुरु भएको हेर्न चाहेको आरोप लगाउनु भएको छ । 

यसअघि, राष्ट्रपतीय चुनावी प्रचारका क्रममा ट्रम्पले आफूले पद सम्हालेको २४ घण्टाभित्रै रुस युक्रेन युद्ध समाप्त गर्ने दाबी गर्नुभएको थियो । बाइडनको कार्यकाल अब दुई महिनामात्रै बाँकी छ भने ट्रम्पले आगामी जनवरी २० मा सत्ता सम्हाल्नुहुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.