इजरायलसँग युद्धबिरामका लागि अमेरिकी प्रस्तावमा लेबनान र हिजबुल्लाह सहमत

मंसिर ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलसँग युद्धबिरामका लागि अमेरिकी प्रस्तावमा लेबनान र हिजबुल्लाह सहमत

काठमाडौं । लेबनान र हिजबुल्लाह समूहले इजरायलसँग युद्धबिरामका लागि अमेरिकी प्रस्तावमा सहमति जनाएका छन् ।

लेबनान र हिजबुल्लाहले इजरायलसँग युद्धबिरामका लागि सहमति जनाएको लेबनानी शीर्ष अधिकारीलाई उदृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

लेबनानको संसद्का सभामुख नबिह बेरीका सहयोगी अली हसन खलिलले लेबनानस्थित अमेरिकी राजदूत लिसा जोनसनलाई लिखित जवाफ पठाएको स्पष्ट पार्नुभएको छ ।

खलिलले लेबनानको तर्फबाट केही सकारात्मक टिप्पणीसहितको प्रस्ताव अमेरिकी राजदूतलाई पठाइएको बताउनुभएको छ । आफूहरुले प्रस्तुत गरेको टिप्पणीमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को १७०१ प्रस्तावको पालना गरेको खलिलको भनाइ छ । राष्ट्र संघको सो प्रस्तावले इजरायल र हिजबुल्लाहबीच यसअघिको युद्ध समाप्त गरेको थियो ।

इजरायलले बेरुत र हिजबुल्लाह नियन्त्रित दक्षिणी उपनगरमा आफ्नो बमबारीबीच वार्ता गर्न खोजिरहेको बताउँदै यसले आफूहरुको स्थितीमा कुनै असर नपर्ने खलिलले स्पष्ट पार्नुभयो ।

खलिलले युद्धबिराम अन्त्य गर्ने विषय अब इजरायलमा निर्भर रहेको बताउनुभयो । हिजबुल्लाहले युद्धबिराम वार्ता गर्न सभामुख बेरीलाई अघि सारेको छ ।

लामो समयदेखि जारी हिजबुल्लाह र इजरायलबीचको युद्धलाई अन्त्य गर्न गत सातामात्र लेबनानस्थित अमेरिकी राजदूत जोनसनले युद्धबिरामसम्बन्धि प्रस्तावको खाका लेबनानी संसद्का सभामुख बेरीलाई बुझाउनुभएको थियो ।

युद्धबिराम वार्तालाई निरन्तरता दिन ह्वाइट हाउसका राजदूत आमोस होचस्टेन बेरुत पुग्नुभएको बताइएको छ । युद्धबिरामबारे इजरायलबाट तत्काल कुनै प्रतिक्रिया भने आएको छैन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.