काठमाडौं । बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बंगलादेश पठाउन भारतसँग आफ्नो प्रशासनले माग गर्ने बताउनुभएको छ ।
जुलाई-अगस्तमा बंगलादेशमा विद्यार्थी नेतृत्वको आन्दोलनले उग्र रुप लिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर हसिना भारत पलायन हुनुभएको थियो । त्यसलगत्तै अगस्त ८ मा युनुसलाई बंगलादेशको अन्तरिम सरकारका प्रमुखमा नियुक्त गरिएको थियो । उहाँले आफ्नो कार्यकालको १०० दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले हसिनालाई बंगलादेश पठाउन भारतसँग माग गर्ने बताउनुभएको हो ।
सम्बोधन गर्दै युनुसले आन्दोलनका क्रममा सयौंको ज्यान गएकोमा जिम्मेवार रहेका हसिनालगायत सबैलाई अन्तरिम सरकारले कारबाही गर्नेसमेत स्पष्ट पार्नुभयो । हसिनाको कार्यकालमा बेपत्ता पारिएका र मानवअधिकार उल्लङ्घनका विषयमा समेत छानबिन गरिने उहाँको भनाइ छ ।
हसिना र उहाँका सहयोगीहरूको गिरफ्तारीका लागि ‘रेड कर्नर’ नोटिस जारी गर्न बंगलादेशले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलसँग माग गरेको छ । आफूले हसिनाको विषयमा अन्तर्राष्ट्रिय फौजदारी अदालत–आईसीसीका मुख्य अभियोजककर्ता करिक खानसँग पनि कुरा गरेको भन्दै उहाँले यो विषय आईसीसीले छानबिन गर्नुपर्ने माग गर्नुभयो ।
युनुसले आफ्नो सरकारको महत्त्वपूर्ण काम निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न निर्वाचन गराउनुभएको स्पष्ट पार्नुभयो । आफ्नो प्रशासनले निर्वाचन प्रणालीलगायत विभिन्न क्षेत्रमा सुधार गर्ने र सुधार भएपछि नयाँ निर्वाचनको खाका प्रस्तुत गर्ने वाचा उहाँले गर्नुभयो । उहाँले अल्पसंख्यक, विशेष गरी हिन्दूहरूमाथि आक्रमणको रिपोर्टलाई बढाइचढाइ विश्वसामु प्रस्तुत गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।