दैलेख । दैलेखको भैरवी गाउँपालिका १ जलजले क्षेत्रमा पेटोलियम पदार्थको अन्वेषण अन्तर्गत ड्रिलिङको काम ८० प्रतिशत सकिएको छ । प्राकृतिक ग्यास अन्वेषणको काम गत वैशाख २८ गतेदेखि सुरु गरिएको थियो ।
पेट्रोलियम पदार्थको अन्वेषणका लागि चिनियाँ र नेपाली टोली ७ महिनादेखि २४ सै घण्टा काम गरिरहेको छन्। सदियौंदेखि अनवरत रुपमा पानिमाथि आगो बल्दै आएको दैलेखको शिरस्थान, नाभिस्थान र पादुका क्षेत्र धार्मिक स्थल पनि हो ।
वर्षौदेखि ज्वाला बलिरहेका यी स्थानमा पेट्रोलियम पदार्थ भएको अनुसन्धानले देखिएपछि अन्वेषण थालिएको हो । ४ हजार मिटर गहिराइसम्म ड्रिलिङ गर्ने लक्ष्य लिइएकोमा हाल ८० प्रतिशत काम सम्पन्न भएको छ । उक्त्त ड्रिलिङ कार्यबाट अनुसन्धानमा सकारात्मक संकेत पाइएको आयोजनाले जनाएको छ ।
अनुसन्धानका लागि हाल नेपाली र चिनियाँ टोली गरेर ८० जना समूहले दिन रात काम गरिरहेको छ ।
जमिनमुनि कडा चट्टानका कारण काममा केही ढिलाइ भएको छ । चीन सरकारको २ अर्ब ५० करोड अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो ।