श्रीलंकामा संसदीय निर्वाचनका लागि मतदान सम्पन्न

कार्तिक २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
श्रीलंकामा संसदीय निर्वाचनका लागि मतदान सम्पन्न

काठमाडौं । श्रीलंकामा आज संसदीय निर्वाचनका लागि भएको मतदान सम्पन्न भएको छ । समय अगावै भएको निर्वाचन बिहान ७ बजेदेखि सुरु भएर बेलुका ४ बजे सम्पन्न भएको हो ।

यस पटकको संसदीय निर्वाचनमा कति प्रतिशत मत खसेको यकिन तथ्यांक तत्कालै नआए पनि अधिकांश क्षेत्रमा ५५ प्रतिशत मतदान भएको त्यहाँको सञ्चारमाध्यमले दाबी गरेका छन् । मत गणनाका लागि निर्वाचन आयोगले दुई हजार २४ मतदान केन्द्र निर्धारण गरेको छ । मतदान सकिए लगत्तै हुलाकी मतगणना सवा चार बजेबाट सुरु भएको र मतपत्रको सामान्य मतगणना बेलुका सवा ७ बजेबाट सुरु भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

मतपरिणामको प्रारम्भिक नतिजा आज मध्यरातबाट आउन सुरु हुने छ भने शुक्रबार बेलुकासम्म अन्तिम नतिजा सार्वजनिक भइसक्ने आकलन त्यहाँको निर्वाचन आयोगले गरेको छ । एक करोड ७० लाखभन्दा केही बढी योग्य मतदाता थिए । देशभर १३ हजार ४ सयभन्दा बढी मतदान केन्द्रका लागि ७ हजारभन्दा बढी प्रहरी घटाइएको थियो ।

२१ सेप्टेम्बर मा निर्वाचित हुनु भएका श्रीलंकाका पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिशानायकेको आह्वानमा समय अगावै संसदीय निर्वाचन गरिएको हो । संसदको कार्यकाल अझै एक वर्ष बाँकी रहँदै दिशानायकेले संसद् विघटन गर्नुभएको थियो । 

 कुल २ सय २५ सिटमध्ये निवर्तमान संसदमा जम्मा तीन सिट रहेको दिशानायकेको नेशनल पिपुल्स पावर एनपीपी गठबन्धनले आज सम्पन्न भएको निर्वाचनमा सन् १९४८ मा देश स्वतन्त्र भएयता शासन गर्दै आएका अन्य दलहरुलाई पछि पार्दै अत्यधिक स्थानमा विजय प्राप्त गर्ने प्रक्षेपण गरिएको छ । २ सय २५ सिट मध्ये संसद्‍मा बहुमत ल्याउन करिब १ सय १३ सिट आवश्यक छ ।

विपक्षी नेता साजिथ प्रेमदासाकाको दल समागी जन बलावेगया पार्टी एनपीपीको मुख्य प्रतिस्पर्धीका रुपमा देखिएको छ । यस्तै पूर्व राष्ट्रपति रनिल विक्रमासिंघेको समर्थन प्राप्त न्यु डेमोक्र्याटिक फ्रन्ट अर्को प्रतिद्वन्द्वीका रुपमा रहेको छ । दुई करोड २० लाख जनसंख्या भएको श्रीलंका दुई वर्षअघि चरम आर्थिक संकटमा फँसेको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.