काठमाडौं । श्रीलंकामा बिहीबार सम्पन्न संसदीय निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म प्राप्त परिणामले वामपन्थी राष्ट्रपति अनुराकुमार दिशानायकेको राजनीतिक गठबन्धन नेशनल पिपुल्स पावर "एनपीपी" सर्वाधिक जिततर्फ अग्रसर रहेका देखाएको स्थानीय समाचारमाध्यमले उल्लेख गरेका छन् ।
अघिल्लो संसदमा दिशानायकेको गठबन्धनले जम्मा ३ सिट जितेको थियो । निर्वाचनको आंशिक परिणाम सार्वजनिक हुँदासम्म एनपीपीले खसेको मतको ७० प्रतिशत मत प्राप्त गरेको जनाइएकोछ । यसैगरी प्रमुख प्रतिपक्षि गठबन्धन समागी जन बलावेगया एसजेबी ११ प्रतिशत र पूर्व राष्ट्रपति रनिल विक्रमासिंघेको समर्थनप्राप्त दल नेशनल डेमोक्र्याटिक फ्रन्टले ५ प्रतिशत मत प्राप्त गरेको छ । विपक्षी गठबन्धन एसजेबीको नेतृत्व राष्ट्रपतीय निर्वाचनमा दिशानायकेसँग पराजित नेता साजिथ प्रेमादासाले गरिरहनु भएको छ ।
संसदका कुल २ सय २५ सिटमध्ये हालसम्म एनपीपीले २२ स्थानमा विजय प्राप्त गरिसकेको जनाइएको छ । करिब एक करोड ७१लाख योग्य मतदाता रहेकोमा ६०प्रतिशतभन्दा बढी मत खसेको निर्वाचन आयोगको पूर्वानुमान रहेको छ । संसद्का कुल २ सय २५ सिटमध्ये १ सय ९६ जना प्रत्यक्ष निर्वाचित हुन्छन् भने बाँकी २९ सिट समानुतिक प्रतिनिधित्व प्रणाली अन्तर्गत पार्टीहरुले देशभरबाट पाएको मतको आधारमा जित्ने गर्दछन् ।
दुई महिनाअघि मात्रै राष्ट्रपति पदमा निर्वाचित हुनु भएका दिशानायकेले संसद् विघटन गर्दै समय अगावै निर्वाचन गराउनु भएको हो । देशलाई आर्थिक संकटबाट पार लगाउनु र भ्रष्टाचारविरुद्ध लडनु दिशानायकेको मुख्य चुनौतीका रुपमा हेरिएको छ । संसदमा बहुमत पाएको अवस्थामा दिशानायकेलाई आफ्ना सुधारका नीतिहरु लागु गराउन सहज हुनेछ ।