काठमाडौं । स्थानीय तहको उपनिर्वाचन हुने ३३ जिल्लाका विभिन्न स्थानीय तहमा शुक्रवार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । आगामी मंसिर १६ गते स्थानीय तहका ४४ पदमा उपनिर्वाचन हुनलागेको हो।
वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने झापाको कन्काई नगरपालिका ६ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । वडा कार्यालय चप्रामारीमा निर्वाचन कार्यालय स्थापना गरिएको हो । गत निर्वाचनमा २ हजार ७७ मतदाता रहेको सो वडामा हाल २ हजार ५८ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसैगरी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथानमा गाउँपालिकाको कार्यालयमा रहने गरि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । ग्रामथानमा २६ हजार ४४ मतदाता छन् ।
त्यस्तै महोत्तरीको रामगोपालपुर नगरपालिकाको २ नम्बर वडाको वडाध्यक्ष चयन गर्ने प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।
रौतहतको तीन वटा स्थानीय तहमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । गढ़ीमाई नगरपालिका ८, ईशनाथ नगरपालिका ७ र राजपुर नगरपालिका ६ को वडाध्यक्ष चयन गर्न निर्वाचन कार्यालय स्थापना भएको हो ।
दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि मुख्य निवार्चन अधिकृतको कार्यालय स्थापना गरिएको छ । ९ वडा रहेको गौरीशंकरमा १२ मतदानस्थल तोकिएको छ । त्यहाँ १५ हजार ७ सय १८ मतदाता छन् ।
त्यसैगरी नुवाकोटको ककनी गाउँपालिका २ मा रिक्त वडाध्यक्षको निवार्चनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
हेटौंडा उपमहानगरपालिका १२ मा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचित वडाध्यक्ष जिल्ला समन्वय समिति प्रमुख बनेपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । २ वटा मतदानस्थल रहेको वडामा ८ हजार ५३ मतदाता छन् ।
रोल्पाको रुन्टीगढी गाउँपालिका ४ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष र दुल्लु नगरपालिकाको उपाध्यक्ष चयन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । महावु गाउँपालिकाका ६ वडाका लागि ९ मतदान स्थल र दुल्लु १३ नम्बर वडाका लागि २ वटा मतदान स्थल रहनेछन् ।
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिकाको ६ नम्बर वडामा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। उम्मेदवारको मनोनयन दर्ता मंसिर २ गते, उम्मेदवारविरुद्ध उजुरी मंसिर ३ गते, उम्मेदारको अन्तिम नामावली प्रकाशन मंसिर ५ गते गरेर सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने तालिका छ।