कहिले सकिन्छ ग्वार्कोमा ओभरपास निर्माणको काम ? कि फेरि थप्ने म्याद ?

कार्तिक ३०, २०८१ |कृपाल गौतम
कहिले सकिन्छ ग्वार्कोमा ओभरपास निर्माणको काम ? कि फेरि थप्ने म्याद ?

काठमाडौं । चक्रपथअन्तर्गत ललितपुरको ग्वार्कोमा निर्माणाधीन ओभरपासको निर्माण थप गरिएको समयमा पनि सम्पन्न नहुने भएको छ । गत फागुनमै सक्ने भनिएको यो परियोजनाको काम अहिलेसम्म ८० प्रतिशत मात्र सकिएको छ । सरकारले आगामी पुस ८ गतेसम्मको समय थप गरेको छ । तर निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै थपिएको समयमा पनि काम नसकिने भन्दै फेरि म्याद थप्न सरकारसँग लबिइङ सुरु गरेको हो ।

ग्वार्कोमा हुने सवारी जाम नियन्त्रण गर्न यो परियोजना अघि बढाइएको हो । दुई वर्षभित्र अर्थात् २०८० साल फागुन ११ भित्र निर्माण सक्ने गरी २०७८ साल फागुन ११ गते आशिष समानान्तर रेलिगेयर जेभीले परियोजनाका लागि सरकारसँग सम्झौता गरेको थियो । तोकिएको समयमा काम सकिएन । त्यसपछि आउने पुस ८ गतेसम्मका लागि म्याद थप गरिएको छ । म्याद सकिन अब करिब ५ सातामात्रै बाँकी छ । तर विभिन्न बहाना देखाउँदै त्यतिबेलासम्म पनि काम नसकिने भन्दै कम्पनीले पुनः म्याद थपको तयारी थालेको छ ।

पहिलो चरणमा योजना अनुसार नै काम भए पनि यसपालिको बर्खामा धेरै पानी परेकाले धेरै काम समय गर्न नसकिएको ग्वार्को फ्लाई ओभर प्रोजेक्टका म्यानेजर कृष्णगोपाल श्रेष्ठले बताउनु भयो । ‘दशैंपछिसम्म पानी परेपछि सोचेअनुसार काम हुन सकेन । अहिले काम त भइरहेको छ तर तोकिएको मितिमा सम्पन्न गर्न गार्‍हो छ,’ उहाँले भन्नुभयो ।

यो परियोजना १७ करोड ६ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा निर्माण गर्न लागिएको हो । परियोजनाका अनुसार यहाँ निर्माण भइरहेको पुलको कालोपत्रेबाहेकको काम सकिसकेको छ । तर त्यहाँ जानका लागि बनाइएको एप्रोच रोडको काम भने ८५ प्रतिशत मात्र सकिएको छ । निर्माण सम्पन्न हुन अझै कम्तिमा तीन महिना लाग्न सक्छ । आयोजनाको वित्तीय प्रगति भने ४५ प्रतिशत मात्र छ । नियामक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि आगामी पुस ८ गतेभित्र आयोजना सकिनेमा विश्वस्त छैन । तर त्यसबेलासम्म पनि काम नसकिएमा के गर्ने भन्नेमा मन्त्रालय स्पष्ट छैन ।

आयोजनाका कारण ग्वार्कोमा दैनिक सवारी साधन जाममा फस्ने गरेका छन् । यात्रुले मात्र नभएर आसपासका नागरिकले पनि सास्ती खेप्नु परिरहेको छ ।

जुनसुकै आयोजना पनि ठेक्का लागेपछि निर्धारित समयमा सकिएको उदाहरण नेपालमा बिरलै भेटिन्छ । ग्वार्कोको ओभरपास पनि त्यस्तै भएको छ । यसले निर्माणाधीन आयोजनाहरु समयमै सक्ने सरकारको प्रतिबद्धतामा त धक्का लागेको छ नै विकास निर्माणको गति पनि सुस्त हुादै गएको देखाउँछ ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement