काठमाडौं । श्रीलंकामा आज संसदीय निर्वाचनका लागि मतदान भइरहेको छ । दुई महिनाअघि अर्थात् यही सेप्टेम्बरमा निर्वाचित हुनु भएका श्रीलंकाका पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिशानायकेको आह्वानमा समय अगावै संसदीय निर्वाचन गरिएको हो । संसद्को कार्यकाल अझै एक वर्ष बाँकी रहँदै दिशानायकेले संसद् विघटन गर्नुभएको थियो ।
कुल २ सय २५ सिटमध्ये निवर्तमान संसद्मा जम्मा तीन सिट रहेको दिशानायकेको नेशनल पिपुल्स पावर-एनपीपी गठबन्धनले आज भइरहेको निर्वाचनमा सन् १९४८मा देश स्वतन्त्र भएयता शासन गर्दै आएका अन्य दलहरुलाई पछि पार्दै अत्यधिक स्थानमा विजय प्राप्त गर्ने प्रक्षेपण गरिएको छ । विपक्षी नेता साजिथ प्रेमदासाकाको दल "समागी जन बलावेगया पार्टी" एनपीपीको मुख्य प्रतिष्पर्धीका रुपमा देखिएको छ भने पूर्व राष्ट्रपति रनिल विक्रमासिंघेको समर्थनप्राप्त "न्यू डेमोक्र्याटिक फ्रन्ट" अर्को उल्लेख्य प्रतिद्वन्द्वीका रुपमा रहेको छ ।
निर्वाचनका लागि एक करोड ७० लाखभन्दा केही बढी योग्य मतदाता रहेको जनाइएको छ । स्वतन्त्र र निष्पक्ष निर्वाचनको सुनिश्चिताका लागि ७ हजारभन्दा बढी प्रहरी घटाइएको छ भने देशभर १३ हजार ४ सयभन्दा बढी मतदान केन्द्र स्थापना गरिएको छ । आवश्यक परेको अवस्थामा सहयोगका लागि सेनालाई पनि तयारीको अवस्थामा राखिएको प्रहरी प्रवक्ता निहाल थल्डुवाले जानकारी दिनुभएको छ ।
दुई करोड २० लाख जनसंख्या भएको श्रीलंका दुई वर्षअघि चरम आर्थिक संकटमा फँसेको थियो । अन्तर्राष्ट्रिय मुद्रा कोषको दुई अर्ब ९० करोड डलरको बेलआउट कार्यक्रमका कारण अर्थतन्त्रमा केही सुधार भए पनि अहिले पनि उच्च महँगी ज्वलन्त समस्याका रुपमा रहेको छ ।
पारिवारिक दलहरुले दशकौं सम्म सत्तामा प्रभुत्व जमाएको श्रीलंकामा एक जना राजनीतिक बाहिरियाको हैसियतले भ्रष्टाचारविरुद्ध लडनु र जनकल्याणका ठूला योजनाका साथै गरिबी नियन्त्रणका नीतिहरु ल्याउनु राष्ट्रपति दिशानायकेको मुख्य लक्ष्य र चुनौतिका रुपमा हेरिएको छ ।