काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले आफ्नो मन्त्री परिषद्का महत्वपूर्ण पदहरूमा नियुक्ति गरिरहनुभएको छ ।
नाभेम्बरमा ५ मा भएको राष्ट्रपतीय चुनावमा ट्रम्पले जित हासिल गरेपछि उहाँले जनवरी २० मा सपथ लिनुहुने छ । सोहि अनुसार ट्रम्पले आफ्नो मन्त्री परिषद्का महत्वपूर्ण पदहरूमा नियुक्ति गरिरहनुभएको हो ।
ट्रम्पले अमेरिकी रक्षामन्त्री, केन्द्रीय खुफिया एजेन्सी (सीआईए) प्रमुख र ह्वाइट हाउस परिषदमा नियुक्त गर्नुभएको छ ।
त्यस्तै ट्रम्पले भारतीय मूलका विवेक रामास्वामी र विश्व धनाड्य एलन मस्कलाई सरकारी दक्षता अर्थात् डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी (डिओजीइ) प्रमुख पदको जिम्मेवारी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
दुबैको नियुक्तीमा ट्रम्पले यी दुई उत्कृष्ट अमेरिकीहरूले अनावश्यक खर्च कम गर्न र संघीय एजेन्सीहरूको पुनर्गठन गर्न काम गर्ने विश्वास व्यक्त गर्नुभएको छ । उत्कृष्ट व्यक्तिहरुको नियुक्तिले अमेरिका बचाउ आन्दोलनको लागि महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो ।
ट्रम्पले रक्षामन्त्रीको जिम्मेवारी पीट हेगेसालाई, जोन रेटक्लिफलाई सीआईए प्रमुख र विलियम जोसेफ म्याकगीन्लेलाई ह्वाइट हाउसका सल्लाहकारको जिम्मेवारी दिनुभएको छ । पीट हेगेसा पूर्व सैन्य अधिकारी र हाल फक्स न्यूजका प्रस्तोता हुन् । त्यस्तै जोन रेटक्लिफ अमेरिकाको नेशनल इन्टेलिजेन्सका पूर्व निर्देशक थिए । यस्तै विलियम जोसेफ म्याकगीन्ले एक स्मार्ट र दृढ वकिल हुन् ।
यसैबीच ट्रम्पले माइक वाल्ट्जलाई अमेरिकाको नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्नुभएको छ । ५० वर्षीय वाल्ट्ज फ्लोरिडाका कांग्रेस सदस्य हुन्। उहाँ लामो समयदेखि ट्रम्पलाई समर्थन गर्दै आउनुभएको छ ।
त्यस्तै माइक हकाबीलाई इजरायलको राजदूतमा नियुक्त गरिएको छ । हक्काबी पछिल्लो १३ वर्षमा इजरायलको राजदूतमा नियुक्त हुने पहिलो गैर–यहूदी हुन्।