अमेरिकाको नयाँ सरकारका लागि आफ्नो टिम बनाउँदै नवनिर्वाचित राष्ट्रपति ट्रम्प

चीनको आलोचक मानिने मार्को रुवियोलाई विदेशमन्त्री नियुक्त गर्ने तयारी
कार्तिक २७, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकाको नयाँ सरकारका लागि आफ्नो टिम बनाउँदै नवनिर्वाचित राष्ट्रपति ट्रम्प

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डनल्ड ट्रम्पले आफ्नो विदेशमन्त्रीका रुपमा चीनप्रति कडा दृष्टिकोण राख्ने फ्लोरिडा राज्यका सिनेटर मार्को रुबियोलाई नियुक्त गर्ने तयारी गर्नुभएको छ ।

५३ वर्षीय रुबियो अमेरिका र भारतबीच रक्षा लगायतका क्षेत्रमा गहिरो साझेदारी हुनुपर्ने मान्यता लिएका व्यक्ति भएको केही भारतीय समाचारमाध्यमले जनाएका छन् । हालसालै रुबियोले युक्रेनले युद्ध अन्त्यका लागि रुससँग सम्झौता गर्नुपर्ने बताउनुभएको थियो । गत अप्रिलमा अमेरिकी सिनेटले युक्रेनका लागि ९५ अर्ब डलरको सैन्य सहायता प्याकेज पारित गर्दा त्यसको विपक्षमा मतदान गर्ने १५ सिनेटरमध्ये रुबियो पनि एक हुनुहुन्थ्यो ।

रुबियोले २०१६ को राष्ट्रपतीय निर्वाचनको प्राइमरीका बेला ट्रम्पलाई चुनौती दिनुभएको थियो । यद्यपि पछि उहाँले ट्रम्पप्रति समर्थन जनाउनु भएको थियो । यस्तै चीनप्रति कडा दृष्टि राख्ने मानिएका फ्लोरिडाकै सांसद तथा अवकाशप्राप्त सैन्य अधिकारी माइकल वाल्ट्जलाई ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा चयन गर्न सक्ने स्रोतलाई उल्लेख गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

गत साता भएको राष्ट्रपतिय निर्वाचनमा विजयी हुनु भएका ट्रम्पले आगामी जनवरी २० मा सत्ता सम्हाल्नु हुनेछ । उहाँले आफ्नो टिममा रहेर काम गर्ने उच्च पदाधिकारीको चयन सुरु गरिसक्नु भएको छ । 

यसक्रममा उहाँले सीमा व्यवस्थापनको शक्तिशाली प्रमुखमा भूतपूर्व आप्रवासन अधिकारी टम होमनलाई चयन गर्नुभएको छ । कानुन कार्यान्वयन र सीमा क्षेत्रमा दशकौं लामो अनुभव रहेका होमनले गैरकानुनी आप्रवासीलाई सामूहिक रुपमा देश निकाला गर्ने ट्रम्पको चुनावी वाचालाई कठोर रुपले कार्यान्वयनमा ल्याउने अपेक्षा गरिएको छ ।

यसैगरी ट्रम्पले एलिस स्टेफानिकलाई संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतका रुपमा चयन गर्नु भएको छ भने सूची वाइल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफका रुपमा छनोट गर्नुभएको छ । यस्तै ट्रम्पले आप्रवासनप्रति कठोर दृष्टि राख्ने आफना सल्लाहकार स्टिफेन मिलरलाई नीति विषय हेर्ने गरी ह्वाइट हाउसको डेपुटी चिफ अफ स्टाफमा नियुक्त गर्ने तयारी गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.