काठमाडौं । भारतको केरला राज्यको वायनाड र महाराष्ट्रको नान्देड लोकसभाको रिक्त पदमा आज उपचुनाव अन्तरगत मतदान हुँदैछ ।
वायनाडमा हुन गइरहेको रिक्त लोकसभा सिटमा कंग्रेसकी महासचिव प्रियंका गान्धी मुख्य दावेदार हुनुहुन्छ । प्रियंका गान्धी लामो समयदेखि राजनीतिको वरिपरि रहे पनि पहिलो पटक चुनावी मैदानमा उत्रनुभएको कारण वायनाडलाई मुख्य चासोका साथ हेरिएको छ ।
यसैवर्ष सात चरणमा सम्पन्न लोकसभा चुनावमा कंग्रेस नेता राहुल गान्धीले दुई लोक सभा सिट केरलको वायनाड र उत्तर प्रदेशको रायबरेलीबाट चुनाव जित्नुभएको थियो । तर, भारतीय संसदमा एक क्षेत्रको मात्र प्रतिनिधि गर्ने प्रावधान रहेको कारण राहुलले रायबरेलीलाई छानेर वायनाडको पद त्याग्नुभएको थियो । रिक्त पदका लागि कंग्रेसले प्रियंका गान्धीलाई उठाएको हो । कंग्रेसको गढ मानिएको वायनाडमा प्रियंकाले राहुल भन्दा पनि अत्याधिक मत ल्याउन सक्ने अनुमान गरिएको छ ।
वायनाड सिटका लागि १६ उम्मेदवार मैदानमा छन् । त्यहाँ १४ लाख अधिकारिक मतदाताले भने मतदान गर्ने छन् । यसअघि लोकसभा चुनावमा त्यस क्षेत्रबाट राहुलले साढे तीन लाख मत प्राप्त गरी विजय हुनुभएको थियो । एलडीएफका नेता सत्यन मोकेरी, एनडीए गठबन्धनबाट नभ्या हरिदास उक्त क्षेत्रमा प्रियंकाको मुख्य प्रतिस्पर्धी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यससँगै भारतको ११ राज्यको करिब ३३ विधानसभा सिटमा पनि आज उपचुनावका लागि मतदान हुँदैछ । त्यस्तै झारखण्डमा मात्र ४३ विधानसभा सिटका लागि मतदान हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आज ११ राज्य राजस्थानको ७, विहारका ४, मध्यप्रदेशका २, छत्तीसगढको एक, पश्चिम बंगालका ६, असमका ५, कर्नाटकका तीन, सिक्किमका २ र गुजरात, केरल र मेघालयका एक एक विधानसभा सिटका लागि मतदान भइरहेको छ ।
झारखण्डर र ११ राज्यको करिब ३३ विधानसभा सिटमा आज विहान ६ बजेबाट मतदान सुरु भएको छ भने वायनाडका लागि ७ बजेदेखि मतदान भएको छ । सबै राज्यको मतगणना २३ नोभेम्बरमा हुने त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।