काठमाडौं । नेपालले भोलिदेखि बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात गर्ने भएको छ । भोलि दिउँसो पौने एक बजेदेखि राति १२ बजेसम्म नेपालबाट भारतको बाटो हुँदै बंगलादेशमा बिजुली निर्यात हुने भएको हो ।
नेपाल, भारत र बंगलादेशबीच गत असोजको अन्तिम साता भएको त्रिदेशीय सम्झौताअनुसार बिजुली निर्यात गर्न लागिएको हो । नेपालबाट जुन १५ देखि नोभेम्बर १५ सम्म बिजुली निर्यात हुने सम्झौता छ । पहिलो चरणमा भोलि एक दिनका लागि बिजुली निर्यात हुने छ ।
योसँगै बंगलादेशसम्म बिजुली निर्यात गर्ने सम्झौता कार्यान्वयनमा जानेछ । ६ वर्षको अथक प्रयासपछि बिजुली निर्यात हुने भएको हो । प्रतियुनिट ६ दशमलव चार अमेरिकन सेन्ट अर्थात् ८ रुपैयाँ ५८ पैसामा बिजुली बेच्न लागिएको छ ।
भारतले भने प्रसारण लाइन प्रयोग गर्न दिए वापत् ५ दशमलव नौ-पाँच पैसा आम्दानी गर्ने छ । बंगलादेशले सन् २०३९ भित्र नेपालबाट ९ हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखेको छ ।