काठमाडौं । यमनको इरान समर्थित हुथी विद्रोही समूहले रेड सी र अरेबियन सीमा अमेरिकी युद्धपोतमाथि क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको छ । यद्यपि ती आक्रमणलाई असफल पारिएको अमेरिकी रक्षामन्त्रालय पेन्टागनले दाबी गरेको छ ।
अमेरिकी युद्धपोतविरुद्ध दुई वटा सैन्य अपरेसन गरिएको र यो करीब ८ घण्टा लामो भएको हुथी सैन्य प्रवक्ता याहया सरेराले एक भिडियो सन्देश जारी गर्दै जानकारी दिएका हुन् । पहिलो अपरेसन अन्तर्गत अरेबियन सीमा यात्रा गरिरहेको अमेरिकी युद्धपोतमाथि थुप्रै क्षेप्यास्त्र र ड्रोनले आक्रमण गरिएको र दोस्रो अपरेसन अन्तर्गत रेड सीमा रहेका दुई वटा अमेरिकी युद्धपोतलाई लक्ष्य बनाइएको प्रवक्ता सरेराले दाबी गरेका छन् ।
यमनको तटीय क्षेत्र नजिकैबाट जाँदै गर्दा आफ्ना युद्धपोतमाथि आक्रमण गरिएको तर ती आक्रमणमलाई विफल तुल्याएको अमेरिकी रक्षामन्त्रालयले जनाएको छ । हुथीको आक्रमणबाट युद्धपोतलाई कुनै क्षति वा व्यक्तिगत हताहती नभएकोसमेत अमेरिकी रक्षामन्त्रालय पेन्टागनले जनाएको छ ।
राजधानी सनासहित यमनको ठूलो क्षेत्रमा नियन्त्रण राख्दै आएका हुथी विद्रोहीहरुले नोभेम्बर २३ यता रेड सी र गल्फ अफ एडेनमा इजरायलसँग सम्बन्धित जहाजहरुमाथि आक्रमण गर्दै आएका छन् ।