फ्रान्स र इजरायको फुटबल खेलअघि सु्रक्षामा चुनौती, प्यालेस्टाइन समर्थकको प्रदर्शन

कार्तिक २९, २०८१ |खेल ब्युरो
फ्रान्स र इजरायको फुटबल खेलअघि सु्रक्षामा चुनौती, प्यालेस्टाइन समर्थकको प्रदर्शन

काठमाडौं । फ्रान्स र इजरायल बीचको खेलअघि पेरिसमा सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय र इजरायली समर्थकबीच हुने सम्भावित झडपलाई ध्यानमा राख्दै सुरक्षा बढाइएको हो ।

यूइएफए नेसन्स लिगमा फ्रान्सले आज राति इजरायलसँग प्रतिस्पर्धा गर्दैछ । गत साता नेदरल्यान्ड्सको एम्सटाडममा स्थानीय र इजरायली समर्थकबीच झडप हुँदा केही घाइते भएका थिए । 

गाजामा इजरेलले जारी राखेको आक्रमणले हजारौं महिला र बालबालिकासँगै नागरिक मारिएको विरोधमा प्यालेस्टाइन समर्थकले इजरायल समर्थकमाथि आक्रमण गरेको बताइएको थियो । 

फ्रान्स सरकारले यो खेलका लागि स्टेडियम, मैदान बाहिर र सार्वजनिक यातायातमा गरी चार हजार प्रहरी खटाएको छ । स्टेडियमभित्र फ्रान्स र इजरायलको मात्र झन्डा लैजान पाइनेछ । 

गाजा युद्धका कारण फ्रान्स र इजरायलको कूटनीतिक सम्बन्धमा पनि चिसोपना आएको छ । फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रो सोलिडारिटीका लागि यो खेल हेर्न जाने उल्लेख गरिएको छ । 

स्टेड डि फ्रान्सको दर्शक क्षमता ८० हजार छ । तर, २० हजारले मात्र खेल हेर्न पाउने बताइएको छ । फ्रान्स टोलीका प्रशिक्षक डिडिय डेस्सोले अन्य कारण जे भए पनि यो विशुद्ध फुटवल खेल हुने अपेक्षा गरेको बताएका छन् । उनले इजरायल सहज प्रतिद्वन्द्वी नभएको पनि उल्लेख गरे । फ्रान्स स्क्वाडमा किलियन एम्बाप्पे भने छैनन् । 

इजरायलका प्रशिक्षक रान बेन सिमोनले तनावका बीच पनि समर्थकले साथ दिने बताएका छन् । यसैबीच, पेरिसमा प्यालेस्टाइन समर्थकले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले यो खेल लज्जास्पद भएको भन्दै बहिस्कारको माग गरेका छन् ।