गुलरिया र बारबर्दिया जोड्ने पुल भासिएको ७ वर्षमा पनि बनेन, डेढ लाख नागरिक प्रभावित

कार्तिक २९, २०८१ |कमल पन्थी
गुलरिया र बारबर्दिया जोड्ने पुल भासिएको ७ वर्षमा पनि बनेन, डेढ लाख नागरिक प्रभावित

बर्दिया । गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीको पुल उद्घाटन नहुँदै ०७४ सालमा भासिएको थियो । बदनामी कमाएको पप्पु कन्सट्रसनले निर्माण गरेको पुल फेरि ०७९ साल असोज २२ गते आएको बाढीले बगाइदियो । पुल नहुँदा यस क्षेत्रका करिब डेढ लाख बासिन्दालाई सदरमुकाम गुलरिया र बारबर्दिया आउजाउ गर्न कठिन छ ।

पुल बगाएपछि सदरमुकाम गुलरियाबाट बारबर्दिया पुग्न १५ मिनेटको बाटो अहिले १ घण्टा बढी समय लाग्ने गरेको छ । पुल नहुँदा किसानले उब्जाएको अनाज गुलरिया पुर्‍याउन सकस भएको छ । समय खेर जाने र डुंगा चढेर आउजाउ गर्दा कर बुझाउनुपर्ने बाध्यता छ । लाइफ लाइन मानिएको पुल भासिएको वर्षौं भयो । गुलरियाका किसान हरिकला साउथ भन्नु हुन्छ-  'जति समस्या भए पनि सरकारले कहिल्यै सुन्दैन । स्कुल जाने विद्यार्थीलाई समेत समस्या छ ।' 

सरकारी कार्यालयको कामकाजदेखि मलखाद लगायत अत्यावश्क सामान खरिद गर्न गुलरिया आउजाउ गर्न यहाँका बासिन्दाले सास्ती खेपेका छन् । डुंगामा आउजाउ गर्न महिलालाई निकै कष्ट हुने गरेको छ ।

जिप लगायत एम्बुलेन्स घुमाउरो बाटोबाट सदरमुकाम गुलरिया आउँदा एक घण्टा बढी समय लाग्ने गर्छ । गुलरिया नगरपालिका-४ का वडाध्यक्ष सुरेश गौतम सरकारी निकायको बेवास्ताले पुल निर्माणमा ढिलासुस्ती भइरहेको बताउनु हुन्छ ।

निर्वाचनका समय यहाँका नेताहरुले पुल बनाउने वाचा गरेका थिए । निर्वाचनमा विजयी भएपछि पुलबारे सरकारलाई दबाब दिन उनीहरुले सकेका छैनन् । जसका कारण यस भेगका करिब डेढ लाख बासिन्दाको दैनिकी कष्टकर बनेको छ ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement