काठमाडौं । भारतले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टी-ट्वेन्टी आईमा ११ रनको जित हात पारेको छ । भारतको जितमा तिलक बर्माले शतक प्रहार गरे ।
सेन्चुरियन स्थित सुपर स्पोर्ट पार्कमा घरेलु टोली दक्षिण अफ्रिकाले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । भारतले २० ओभरमा ६ विकेट गुमाएर २ सय १९ रनको योगफल बनायो । खराब सुरुवात गरेको भारतले पहिलो ओभरको दोस्रो वलमा नै संजु सामसनलाई गुमाएको थियो । मार्को यानसेनको बलमा आउट भएका उनले खाता खोल्न सकेनन् । तर दास्रो विकेटका लागि अभिषेक शर्मा र तिलकले १ सय ७ रनको साझेदारी गरेपछि भारतले विशाल लक्ष्य प्रस्तुत गरेको हो ।
अभिषेकले २५ बलमा ५० रन जोडे । तिलक एक सय ७ रनमा अविजीत रहे । ५६ बल खेलेका उनले आठ चौका र सात छक्का प्रहार गरेका थिए । कप्तान सुर्यकुमार यादव भने एक रनमा मैदान बाहिरिए । हार्दिक पान्डयाले १८ र रमनदीप सिंहले १५ रन जोडे । रमनदीपको टीट्वेन्टी आईमा यो डेब्यु खेल हो ।
अन्डिले सिमलानी र केशव महाराजले दुई दुई विकेट लिए । जवाफमा दक्षिण अफ्रिकाले २० ओभरमा सात विकेटको नोक्सानीमा दुई सय ८ रन मात्र बनाउन सक्यो । रायन रिकेल्टन २०, रेजा हेन्डरिक्स २१, ट्रिस्टन स्टब्स १२ र कप्तान एइडन माक्रम २९ रनमा आउट भए ।
हेनरिच क्लासेनले ४१ र यानसेनले ५४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । अर्शदीप सिंहले तीन र वरुण चक्रवतीले दुई विकेट लिए । यो जितपछि भारतले चार खेलको सिरिजमा दुई एकको अग्रता लिएको छ । चौथो तथा निर्णायक टी-ट्वेन्टी आई भोलि हुनेछ ।