काठमाडौं । भारतको मणिपुरस्थित जिरिबाम जिल्लामा केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) का सैनिकसँगको भिडन्तमा दश संदिग्ध आतंककारी मारिएका छन् ।
भिडन्तमा एक सीआरपीएफ जवान पनि गम्भीर घाइते भएको बताइएको छ । जिरिबाम सहरबाट ३० किलोमिटर टाढा बोरोबेकरा प्रहरी चौकी नजिकैको ग्रामीण इलाकामा सैनिक बल र आतंककारीबीच भिडन्त भएको हो । चरमपन्थीहरूले उक्त क्षेत्रमा रहेको सीआरपीएफ क्याम्पलाई निशाना बनाउने प्रयास गर्दा दुवै पक्षबाट गोलीबारी सुरु भएको थियो ।
बोरोबेकरा थाना क्षेत्रको जाकुराडोर कारोङ क्षेत्रमा बिहानैदेखि केही संदिग्ध सशस्त्र अतिवादीले आक्रमण गरेका थिए । उनीहरूले मेइती समुदायको बाहुल्यता रहेको गाउँका धेरै खाली पसल र घरहरूमा आगजनीसमेत गरेको बताइएको छ ।
वरिष्ठ प्रहरी अधिकारीले यस घटनाको सम्बन्धमा फौजदारी मुद्दा दर्ता गरी अनुसन्धान सुरु भएको जनाएका छन् । मारिएका व्यक्तिहरु कुन समूदायको रहेको भन्ने विषय अहिलेसम्म खुल्न सकेको छैन् ।
मणिपुर प्रहरीले एक विज्ञप्ति जारी गर्दै घटनाबारे पुष्टि गरेको छ । ४० देखि ४५ मिनेटको गोलीबारीपछि स्थानीय प्रहरीसहित सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिएको र त्यसपछि उक्त क्षेत्रमा खोजी गरिँदा १० चरमपन्थीको शव फेला परेको बताइएको छ । सो क्षेत्रमा सुरक्षा बलले घटनास्थलबाट ठूलो परिमाणमा हतियार र गोलाबारुद बरामद गरेको बताइएको छ । घटनापछि मेइती समुदायका करिब पाँच जना सर्वसाधारण बेपत्ता भएको बताइएको छ ।
गत बिहीबार सशस्त्र चरमपन्थीको आक्रमणमा ३१ वर्षीया आदिवासी महिलाको मृत्यु भएपछि उक्त क्षेत्रमा हिंसा र तनावको बढेको हो । कुकी संस्था कुकी–जो काउन्सिलले आज बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म कुकी बहुल क्षेत्रमा पूर्ण बन्दको घोषणा गरेको छ ।