अमेरिकामा ४७ औं राष्ट्रपति चयनका लागि मतदान सुरु

ट्रम्प र ह्यारिसबीच कडा प्रतिस्पर्धा
७ वटा स्वीङ स्टेटको मत निर्णायक
कार्तिक २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
अमेरिकामा ४७ औं राष्ट्रपति चयनका लागि मतदान सुरु

काठमाडौं । विश्वको महाशक्ति मुलुक अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । न्यु ह्याम्पशायरको सानो सहर डिक्सभिल नचमा मध्यरातमा मतदान सुरु भएको हो ।

यो सहरका बासिन्दाले सबैभन्दा पहिले मतदान गर्ने परम्परा ६० वर्षदेखि चल्दै आएको छ । त्यहाँ ६ जनाले मतदान गरेकोमा डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन डोनाल्ड ट्रम्पले ३-३ मत पाएका छन् । ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा हुनुहुन्छ ।

डेमोक्रेटिक उम्मेदवार ह्यारिस र रिपब्लिकन उम्मेदवार ट्रम्पबीचको चुनावी प्रतिस्पर्धा ‘इतिहासकै कडा’ देखिएको छ। एनबीसी न्युजको सर्वेक्षणमा दुवै उम्मेदवारको अवस्था बराबर छ । ट्रम्प र ह्यारिस दुवैलाई समान ४९ प्रतिशतले मत दिने बताएका छन् भने दुई प्रतिशतले निर्णय लिइ नसकेको जनाएका छन् ।

विभिन्न चुनावी सर्वेक्षणले ट्रम्पभन्दा ह्यारिस अगाडि देखाएका छन् । एबीसी न्युजको सर्वेक्षणअनुसार ट्रम्पलाई ४७ प्रतिशत मतदाताको साथ छ भने पहिलो महिला राष्ट्रपति हुने दौडमा रहनुभएकी ह्यारिसले ४८ प्रतिशत मतदाताको समर्थन जुटाउनुभएको छ । तर यो सर्वेक्षण निर्वाचित हुनका लागि पर्याप्त छैन ।

सर्वेक्षणअनुसार ५ प्रतिशत मतदाता अन्तिम समयसम्म पनि कसलाई मत दिने भन्ने निर्णयमा पुगिसकेका छैनन्। जसका कारण दुई मध्ये जुनसुकै उम्मेदवारले जित हासिल गर्न सक्ने देखिएको छ।

५ सय ३८ इलेक्टोरल कलेज मध्ये स्वीङ स्टेट मानिएको नर्थ क्यारोलिनामा मात्रै १६ इलेक्टोरल कलेज मत छ । त्यसका कारण उक्त राज्य उम्मेदवारका लागि अत्याधिक महत्वपूर्ण छ । ५ सय ३८ इलेक्टोरल कलेज जितका लागि २ सय ७० मत आवश्यक पर्दछ ।

यसैबीच, चुनाव अगावै करिब ७ करोड अमेरिकी मतदाताले हुलाक र व्यक्तिगत उपस्थितिबाट आफ्नो मताधिकार प्रयोग गरिसकेको रोयटर्सले जनाएको छ । युक्रेन र मध्यपूर्वमा जारी युद्ध, आप्रवासी सरोकार र अन्तर्राष्ट्रिय व्यापारजस्ता मुद्दालाई प्रत्यक्ष प्रभावित गर्ने भएकाले अमेरिकी राष्ट्रपतिको चुनावमा यतिबेला विश्वकै ध्यान केन्द्रित भएको छ ।

नेपाली समयअनुसार आज रातिदेखि हुने मतदानबाट ४ वर्षका लागि चयन हुने उम्मेदवारले सन् २०२५ को जनवरी २० देखि कार्यभार सम्हाल्ने छन् । साधारणतया चुनाव सकिए कै रात विजेता घोषणा हुने गरेको छ । तर हुलाकमार्फत गरिएको मतदानले नतिजा निर्धारण गर्ने अवस्थामा भने नतिजा आउन केही दिन लाग्न सक्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.