सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई थप १० दिन हिरासत राख्न अदालतको अनुमति

कार्तिक २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई थप १० दिन हिरासत राख्न अदालतको अनुमति

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । कास्की प्रहरीले लामिछानेलाई आज म्याद थपका लागि अदालतमा लगेको थियो ।

रास्वपाको पार्टी कार्यालय काठमाडौंबाटै कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ । प्रहरीले आज २५ दिन म्याद मागेकामा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिनको समय दिएको हो । लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको हो । 

कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ कात्तिक मै सकिएको थियो । तर, तिहार बिदाका कारण लामिछाने प्रहरी हिरासतमै रहनुभएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीको समेत साथ लिएर सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरिरहेको छ। सीआईबीको अनुसन्धान टोलीलाई साथमै लिएर लामिछानेका आफन्तका कारोबार तथा विदेश रकम पठाएको तथ्यसमेत खोजी गर्ने काम भइरहेको अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिएका छन् ।

यसैबीच रास्वपा कार्यकर्ताले पोखरामा निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालत उपस्थित गराउनुअघिदेखि नै आज रास्वपाका कार्यकर्ताले सडकमा प्रदर्शन थालेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement