काभ्रे । काभ्रेको रोशी गाउँपालिका -३ भञ्ज्याङ डाँडामा गत असोज १६ गते लोरो प्रहार गरेर आफ्नै आमाको हत्या गरी सुन र पैसा चोरी गरेर भागेका छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा मृतक महिलाकै कान्छो छोरा २८ वर्षीय फुर्साङ लामा रहेका छन् ।
रोशी गाउँपालिका -३ भञ्ज्याङ गाउँ बस्ने पल्छङ लामाकी श्रीमती बर्ष ६९ की माइली लामालाई छोरा फुर्साङले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको हो । फुर्साङलाई घटनाको दुई दिनपछि पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
प्रहरीका अनुसार फुर्साङ लामाले भान्सा कोठामा सुतिरहेको आफ्नै आमाले कानमा लगाएको सुनको रिङ र नगदको लोभले मसला पिस्ने सिलौटो ढुङ्गाको लोरोले टाउकोमा प्रहार गरी हत्या गरेका थिए ।
फुर्साङलाई काभ्रे जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिनु भयो ।