राष्ट्रसंघको भूमिका सुधारदेखि न्यायपूर्ण विश्व व्यवस्था निर्माणको आह्वान गर्दै ब्रिक्स सम्मेलन सम्पन्न

कार्तिक ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रसंघको भूमिका सुधारदेखि न्यायपूर्ण विश्व व्यवस्था निर्माणको आह्वान गर्दै ब्रिक्स सम्मेलन सम्पन्न

काठमाडौं । रुसको कजानमा सम्पन्न १६औं ब्रिक्स सम्मेलनपछि सदस्य राष्ट्रका नेताहरूले संयुक्त राष्ट्रसंघ-यूएनको सुधारदेखि चलिरहेको विश्वव्यापी द्वन्द्वसम्मका विभिन्न विषयहरूलाई समेटेर संयुक्त घोषणापत्र जारी गरेका छन् ।

उक्त घोषणा पत्रमा कुल १ सय ३४ वटा प्रावधान उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । जसमध्ये राष्ट्रसंघको सुधारको विषयलाई पनि समेटिएको छ।

राष्ट्रसंघ सुरक्षा परिषदसहितको व्यापक सुधारलाई थप लोकतान्त्रिक, प्रतिनिधिमूलक, प्रभावकारी बनाउन आफूहरुको समर्थन रहेको घोषणा पत्रमा उल्लेख छ । उक्त घोषणापत्रमा विश्वव्यापी चुनौतिको जवाफ दिन विकासोन्मुख देशहरूको प्रतिनिधित्व विस्तार गर्ने विषय पनि समावेश गरिएको छ ।

घोषणापत्रले राजनीतिक सुरक्षा, अर्थतन्त्र र वित्त र सांस्कृतिक आदानप्रदानलगायत सहयोगका तीन स्तम्भ पहिचान गरेको बताइएको छ। घोषणापत्रमा दक्षिणका चासोहरूलाई स्वागत गर्नुका साथै उदयीमान बजार र विकासशील देशहरूसँग साझेदारीलाई समेत समर्थन गरेको उल्लेख गरिएको छ ।

ब्रिक्स नेताहरूले राष्ट्रसंघ र विश्व व्यापार संगठन, केन्द्रीत व्यापार संयन्त्रलाई समर्थन गर्दै अझ न्यायपूर्ण विश्व व्यवस्था सिर्जना गर्न बहुपक्षीयतालाई बलियो बनाउन संयुक्त रुपमा आह्वान गरेका छन्। ती नेताहरूले विकासशील राष्ट्रहरूको प्रतिनिधित्व बढाउन यी संस्थाहरूको व्यापक सुधारको पनि वकालत गरेका छन् ।

विश्वव्यापी मुद्दाहरूलाई सम्बोधन गर्दै, ब्रिक्स नेताहरूले रूस-युक्रेन द्वन्द्व र गाजामा मानवीय संकटको शान्तिपूर्ण समाधानको लागि समेत संयुक्त रुपमा आह्वान गरेका छन् । नेताहरूले तत्काल गाजामा युद्धविराम र प्यालेस्टाइनलाई राष्ट्रसंघको सदस्यताका लागि पहल गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.