भारतको ओडिसा र पश्चिम बंगालमा समुद्री आँधी

करिब १० लाख बासिन्दालाई सुरक्षित स्थानमा सारिँदै
तटीय क्षेत्रका विद्यालय, विमानस्थल र रेल्वे सेवा बन्द
कार्तिक ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतको ओडिसा र पश्चिम बंगालमा समुद्री आँधी

काठमाडौं । भारतको ओडिसा र पश्चिम बंगालमा समुद्री आँधी ‘दाना’को प्रभाव देखिन थालेको छ । त्यहाँ भारी वर्षा भइरहेको छ । दुवै राज्यमा आँधीलाई मध्यनजर गर्दै सतर्कता अपनाउन मौसम विभागले चेतावनी जारी गरेको छ ।

दाना समुद्री आँधी रफ्तारमा उत्तरपश्चिम दिशातर्फ अघि बढिरहेको छ । यो आँधी आजै ओडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा पुग्ने चेतावनी मौसम विभागले दिएको हो । मौसम विज्ञान विभागले जटीय क्षेत्रका केही जिल्लामा रेट अलर्ट नै जारी गरेको हो ।

दुवै प्रदेशका स्थानीय प्रशासनले सतर्कता सुरु गरी लाखौं मानिसलाई सुरक्षित स्थानतर्फ सारिसकेको छ भने झण्डै १० लाख मानिसहरुलाई सुरक्षित स्थानतर्फ सार्ने तयारी छ । भारतीय मौसम विज्ञान विभागका निर्देशक मनोरमा मोहन्तीले दाना आँधीले गतराति घातक रुप लिएको र विगत ६ घण्टादेखि १२ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर-पश्चिम दिशामा अगाडि बढिरहेको बताउनुभएको छ ।

अहिले यो आँधी मध्य र उत्तर-पश्चिम बंगालको खाडीमा ओडिशाको प्रायद्वीपबाट २ सय ६० किलोमिटर दक्षिण-पश्चिममा रहेको छ । तटीय क्षेत्रमा आइ पुग्दा यसको गति प्रतिघण्टा १ सय २० किलोमिटरसम्म हुने चेतावनी दिइएको छ ।

आँधी आउने सम्भावनालाई हेरेर पश्चिम बंगाल सरकारले नौ जिल्लाका सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । स्थानीय प्रशासनले समुद्रमा माछा मार्न नजान चेतावनी दिएको छ । माछा मार्न गएकाहरुलाई पनि फिर्ता बोलाइएको छ ।

ओडिसाको पर्यटकीय स्थल पुरीबाट मंगलबार नै पर्यटकलाई बाहिर निकालिएको छ । अहिले यहाँ कुनै पनि पर्यटकलाई अनुमति दिइएको छैन । ओडिसाका १४ जिल्लाका सबै विद्यालय २५ तारिखसम्म बन्द गरिएको छ । त्यस्तै तटीय क्षेत्र नजिक रहेका जिल्लाहरुको विमानस्थललाई बन्द गर्न निर्देशन दिइएको छ भने दुई सय तीन रेललाई रद्द गरिएको छ ।

ओडिसा र पश्चिम बंगाल सहित ६ राज्यलाई हाई हलर्टमा राखिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.