विवादास्पद अन्तर्वार्ता दिएपछि बंगलादेशमा राष्ट्रपति मोहम्मद शहाबुद्दीनको राजीनामा माग गर्दै प्रदर्शन

प्रहरी र प्रदर्शनकारीबीचको झडपमा २५ जना घाइते
कार्तिक ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
विवादास्पद अन्तर्वार्ता दिएपछि बंगलादेशमा राष्ट्रपति मोहम्मद शहाबुद्दीनको राजीनामा माग गर्दै प्रदर्शन

काठमाडौं । बंगलादेशमा राष्ट्रपति मोहम्मद शहाबुद्दीनको राजीनामा माग गर्दै व्यापक विरोध प्रदर्शन भएको छ ।

आक्रोशित प्रदर्शनकारीले गएराति राष्ट्रपति कार्यालय बंगभवन घेराउ गर्नुका साथै बलपूर्वक भित्र प्रवेश गर्न खोजेका थिए । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । स्थानीय दैनिक ट्याब्ल्वाइड पत्रिका "मानबजमिन"लाई दिएको विवादास्पद अन्तर्वार्ताका कारण राष्ट्रपतिको राजीनामा माग गर्दै विरोध प्रदर्शन सुरु भएको हो ।

आफ्नो अन्तर्वार्तामा राष्ट्रपति शहाबुद्दिनले भारतमा निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएको कुरा आफूले सुनेको मात्र तर त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण नदेखेको बताउनुभएको थियो । झडपका क्रममा कम्तीमा २५ प्रहरी घाइते भएका छन् ।

राष्ट्रपति भवनभित्र प्रवेश गर्नबाट रोक्न खोजेपछि प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको बताइएको छ । राष्ट्रपति शहाबुद्दिनको अन्तर्वार्ता प्रकाशित भएपछि सुरुमा अन्तरिम सरकारका कानुनी सल्लाहकार आसिफ नजरुलले राष्ट्रपतिले पद तथा गोपनियताको सपथको उल्लंघन गरेकाले उहाँमाथि कानुनी कारबाही गरी पदबाट हटाउनुपर्ने माग गर्नुभएको थियो ।

त्यसपछि शेख हसिनालाई अपदस्थ गर्ने आन्दोलनको नेतृत्वकर्ता विद्यार्थी समूह "विभेदविरुद्धको विद्यार्थी अभियान"ले राष्ट्रपतिले २४ घण्टाभित्र पदबाट राजीनामा दिनुपर्ने मागसहित राजधानी ढाकामा प्रदर्शन गरेका थिए । उनीहरु राति बंगभवन घेराउ गर्न पुगेका थिए ।

आन्दोलनकारीको अर्को समूहले भने केन्द्रीय सहिद मिनारमा भेला भइ प्रदर्शन गर्नुका साथै ७ दिनभित्र राजीनामा गर्न राष्ट्रपतिलाई अल्टिमेटम दिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजेदले गत अगष्टमा रोयटर्ससँगको कुराकानीमा आफ्नी आमाले राजीनामा नदिएको बताउनुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.