ब्रिक्सका सदस्य राष्ट्रहरुलाई आफ्नो अर्थतन्त्र वृद्धि गर्न छुट्टै मञ्च बनाउनेबारे छलफलका लागि पुटिनको प्रस्ताव

कार्तिक ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
ब्रिक्सका सदस्य राष्ट्रहरुलाई आफ्नो अर्थतन्त्र वृद्धि गर्न छुट्टै मञ्च बनाउनेबारे छलफलका लागि पुटिनको प्रस्ताव

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ब्रिक्सका सदस्य राष्ट्रहरुलाई आफ्नो अर्थतन्त्रको वृद्धि गर्न छुट्टै मञ्च बनाउनेबारे छलफल गर्न प्रस्ताव गर्नुभएको छ । यसले ब्रिक्सका सदस्य राष्ट्रहरूको बढ्दो अर्थतन्त्रको सम्भावनालाई थप मद्दत पुग्ने अपेक्षा उहाँले गरेको रुसी सञ्चारमाध्यम तासले जनाएको छ ।

रुसको कजानमा ब्रिक्स प्लस बैठकका क्रममा पुटिनले विश्वव्यापी आर्थिक वृद्धिको अर्को लहर विश्वको बहुलता भएका देश अर्थात् ब्रिक्सका सदस्य राष्ट्रहरुमा देखिने प्रस्ट भएको बताउनुभयो । उहाँले अर्थतन्त्रलाई बलियो बनाउन छुट्टै मञ्च निर्माण गर्न प्रस्ताव गर्नुभएको हो ।

आफ्नै मञ्च निर्माण गरेर ब्रिक्स राष्ट्रहरूले दक्षिण र पूर्वका देशहरुमा ठूला पूर्वाधार र प्रविधि परियोजनाहरूमा लगानी बढाउने योजना पुटिनको छ । उहाँले उत्पादन, प्रविधि र उन्नत ज्ञानको आदानप्रदान बढाउन, नयाँ अन्तर्राष्ट्रिय करिडोरको क्षमतालाई विकास गर्नु अहिलेको आवश्यकता रहेको भन्दै त्यसतर्फ ध्यान केन्द्रित गर्न सदस्य राष्ट्रहरुलाई आग्रह गर्नुभयो ।

पश्चिमा देशहरुको दबदबा र वित्तीय संयन्त्रबाट मुक्त हुन आफ्नै वित्तीय संयन्त्र निर्माण गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले उत्तर-दक्षिण अन्तर्राष्ट्रिय यातायात करिडोर र उत्तरी समुद्री मार्ग जस्ता परियोजनामा सहयोग गर्न सबै इच्छुक देशलाई आह्वानसमेत गर्नुभएको छ ।

त्यस्तै एसिया, अफ्रिका र ल्याटिन अमेरिकाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले इजरायल र इरानबीचको तनाव बढ्दै गएपछि मध्यपूर्व पूर्ण युद्धको नजिक पुगेको र यसले ब्रिक्स सदस्य राष्ट्रहरुलाईसमेत प्रभावित पारेको पुटिनको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.