१६ औं ब्रिक्स सम्मेलन रुसको काजानमा आजदेखि सुरु

कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
१६ औं ब्रिक्स सम्मेलन रुसको काजानमा आजदेखि सुरु

काठमाडौं । १६ औँ ब्रिक्स सम्मेलन २०२४ रुसको काजानमा आजदेखि सुरु भएको छ । ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह ब्रिक्सको सम्मेलन बिहीबारसम्म चल्नेछ ।

सम्मेलनमा ब्रिक्स मुलुकसँगै इजिप्ट, संयुक्त अरब, इथियोपिया र इरान पनि सहभागी हुने बीबीसीले जनाएको छ । सम्मेलनमा भाग लिन चीन, भारत, इजिप्ट, दक्षिण अफ्रिका, इथियोपिया र संयुक्त अरबका राष्ट्र तथा सरकार प्रमुखहरु रुस पुगिसकेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सबै सदस्य राष्ट्रका प्रमुखहरुसँग आज छुट्टाछुट्टै वार्ता गर्ने कार्यक्रम छ । पुटिनले ब्रिक्समा थप ३० राष्ट्र सामेल हुन चाहेको बताउनुभएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला द सिल्भाले भने स्वास्थ्य कारण देखाउँदै भ्रमण रद्ध गर्नुभएको छ । 

युक्रेनमाथि आक्रमण थालेयता रुसले पहिलोपटक अन्तर्राष्ट्रियस्तरमा सम्मेलन आयोजना गरेको हो । पश्चिमा राष्ट्रले युद्धको विषयलाई लिएर रुसलाई एक्ल्याउन खोजिरहेका बेला शक्ति मुलुकका नेताहरुको रुसमा उपस्थितिले परिदृश्य छुट्टै देखिएको बीबीसीले जनाएको छ ।

पश्चिमी प्रतिबन्धहरूबाट दबाब कम गर्न विश्वव्यापी भुक्तानीका लागि डलरको विकल्प अपनाउन पहल गरिने रुसले आपेक्षा राखेको छ । रुसको अन्तर्राष्ट्रिय व्यापारको भुक्तानी डलरसँग जोडिएका कारण यसको विकल्प खोजिएको हो । यी विषयमा भारत र चीन खुला रुपमा प्रस्तुत नभए पनि ती राष्ट्र सकारात्मक देखिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.