युद्धका घाउ बोकेर सडक पर्खिरहेको पूर्वी रुकुमको छिपखोला गाउँ

कार्तिक ६, २०८१ |महेश केसी
युद्धका घाउ बोकेर सडक पर्खिरहेको पूर्वी रुकुमको छिपखोला गाउँ

रुकुम पूर्व । तत्कालीन विद्रोही नेकपा माओवादी सशस्त्र संघर्ष छोडेर शान्ति प्रक्रियामा आएको पनि १८ वर्ष पुग्नै लाग्यो । तर युद्धताका माओवादी छापामारले परेड खलेका अनि विभिन्न राजनीतिक गतिविधि गरेका ठाउँमा अहिले पनि युद्धका खाटाहरु भेट्न सकिन्छ । त्यसै मध्येको एक हो, पूर्वी रुकुमको छिपखोला गाउँ ।

छिपखोला, सिस्ने गाउँपालिका २ मा पर्ने त्यही गाउँ हो जहाँ सामूहिताको अभ्यास गर्ने भनेर तत्कालीन विद्रोही नेकपा माओवादीले २०६१ साल भदौ २५ गते 'बलिदान जन-कम्युन' स्थापना गरेको थियो । यहाँ सुरुमा ६ र पछि १० घरपरिवार एउटै छानोमुनि बसेका थिए । २०६८ सालसम्म सञ्चालन भएको 'जन-कम्युन'मा यी परिवारले 'साझा काम, साझा परिवार, साझा आम्दानी, साझा सम्पत्ति भनेर आफ्नो सम्पूर्ण जायजेथा पार्टीकरण गरेर सँगै बसेका थिए ।

राज्य सजिलै पुग्न नसक्ने अनकन्टार गाउँहरुमा माओवादीले त्यो बेला आफ्नो सेल्टर बनाउने गरेको थियो । यिनै मध्येको एक थियो, छिपखोला गाउँ । खोँचमा रहेको यही गाउँ पुगेर २०५२ साल फागुन २९ गते प्रहरीले दुई जना सर्वसाधारणको हत्या गरेपछि छिपखोलाको सिंगो गाउँ नै राज्यविरुद्ध उत्रिएको थियो ।

'जनताको शासन' स्थापित गर्ने सपना देखाएर माओवादी युद्धमा होमिएको यो गाउँमा विद्युत्, खानेपानीलगायतका पूर्वाधारमा केही प्रगति भए पनि अहिलेसम्म सडक पुग्न सकेको छैन । त्यसैले हिँडेरै वडा कार्यालयदेखि गाउँपालिका र सदरमुकामसम्म जाने दु:ख अझै छुटेको छैन । त्योबेला माओवादी आन्दोलनमा लागेकाहरु अहिले पार्टीका केही नेता सत्ता र शक्तिमा पुगेपछि बेवास्ता गरेको दुखेसो गर्छन् ।

सामूहिकताको भावना जागृत गराउँदै त्योबेला 'जन-कम्युन'मार्फत छिपखोलाबाट बिजुली निकालेर गाउँ झिलिमिली पारिएको थियो । तर माओवादी शान्ति प्रक्रियामा प्रवेश गरेसँगै भताभुङ्ग भएपछि कम्युनका सदस्यहरु पनि लाखापाखा लागे ।

यहीँका माओवादी नेता गणेशमान पुन २०७० सालको दोस्रो संविधानसभाको सभासद तथा २०७२ सालमा एक वर्ष मन्त्री बन्नुभयो । उहाँकी श्रीमती कमला रोका पनि २०६३ सालमा अन्तरिम विधायक र २०७४ सालमा प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुँदै मन्त्री बन्नुभयो । तर छिपखोलाले आशा गरेको विकास पाउन सकेन ।

'जन-कम्युन'लाई अहिले 'सहिद स्मृति पार्क'ले प्रतिस्थापन गरेको छ । जहाँ साबिकका प्वाङ, पोखरा र पिपल गाविसमा राज्यपक्षबाट ज्यान गुमाएकाहरुको नामाङ्कित स्तम्भ बनाइएको छ । छिपखोला माओवादी सशस्त्र संघर्षको एक ऐतिहासिक थलो भएकाले यसलाई नमुना गाउँका रुपमा विकास गर्न आफूहरु लागिरहेको दाबी माओवादी-केन्द्रका नेताहरुले गरेका छन् । 


Image

महेश केसी

केसी रुकुम पश्चिम र रुकुम पूर्वका लागि कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।