पद्मश्री साहित्य पुरस्कार अद्वैत उपन्यासका लेखक प्राध्यापक कृष्ण गौतमलाई प्रदान, चाम्लिङलाई पद्मश्री साधना सम्मान

कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
पद्मश्री साहित्य पुरस्कार अद्वैत उपन्यासका लेखक प्राध्यापक कृष्ण गौतमलाई प्रदान, चाम्लिङलाई पद्मश्री साधना सम्मान

काठमाडौं । खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०८० सालको पद्मश्री साहित्य पुरस्कार अद्वैत उपन्यासका लेखक प्राध्यापक कृष्ण गौतमलाई प्रदान गरेको छ । वर्षभरिमा प्रकाशित १ सय ८७ पुस्तकमध्ये अद्वैत उपन्यासलाई सर्वोत्कृष्ठ ठहर गर्दै प्रतिष्ठानले आज काठमाडौं आयोजित कार्यक्रममा लेखक गौतमलाई पुरस्कृत गरेको हो । 

त्यसैगरी नेपाली भाषा, साहित्य तथा संस्कृतिको उन्नयन र साहित्यिक विकासमा महत्वपूर्ण योगदान गरेबापत भारतको सिक्किमका पूर्वमुख्यमन्त्री पवनकुमार चाम्लिङलाई पद्मश्री साधना सम्मान र समतामूलक समाज निर्माण र शिक्षा विकासमा महत्वपूर्ण योगदानको कदर गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति एवम् नागरिक समाजका अभियन्ता केदारभक्त माथेमालाई पद्मश्री गौरव पुरस्कार प्रदान गरेको छ ।

प्रतिष्ठान अध्यक्ष जीवा लामिछानेले पुरस्कृत गौतम, चाम्लिङ र माथेमालाई जनही ३ लाख रुपैयाँ र सम्मानपत्र प्रदान गर्नुभयो । कार्यक्रममा अध्यक्ष लामिछानेले समाज र राष्ट्रको विकासका लागि साहित्यको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

कार्यक्रममा पुरस्कृत साहित्यकार तथा अभियन्ताहरुले मुलुकको राजनीतिलाई सही मार्गमा लैजान साहित्य सिर्जनामार्फत दबाब सिर्जना गर्नुपर्नेमा जोड दिए । प्रतिष्ठानले २०६३ सालदेखि हरेक वर्ष पद्मश्री साहित्य पुरस्कार, २०६७ सालबाट पद्मश्री साधना सम्मान र २०७८ देखि पद्मश्री गौरव पुरस्कार प्रदान गर्दै आएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.