पर्यटक आगमनले होटल ८० प्रतिशत भरिभराउ, दैनिक ४ हजार पर्यटक नेपाल भित्रिँदै

९ महिना मै आए ८ लाख १६ हजार विदेशी
कार्तिक ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
पर्यटक आगमनले होटल ८० प्रतिशत भरिभराउ, दैनिक ४ हजार पर्यटक नेपाल भित्रिँदै

काठमाडौं । पर्यटक आगमनको मुख्य सिजनमा अहिले होटेलहरुको अकुपेन्सी ८० प्रतिशत पुगेको छ । सिजनको सरुवातमा वर्षात र बाढीले पर्यटक आगमन केही प्रभावित भए पनि अहिले दैनिक ३५ सयदेखि ४ हजार पर्यटक नेपाल भित्रिने गरेका छन् । सडकमार्गबाट भित्रिने पर्यटकको संख्या भने सरकारसँग छैन ।

नेपालमा पर्यटक आउने दुई सिजनमध्ये शरद ऋतुलाई ट्रेकिङ सिजन मानिन्छ । बसन्त ऋतुमा सगरमाथालगायत ८ हजार मिटरमाथिका हिमाल आरोहण गर्नेको संख्या बढी हुने गरे पनि यो सिजनमा ६ हजार मिटर आसपासका हिमाल र ट्रेकिङ जाने पर्यटकको संख्या बढी हुने गरेको छ । पर्यटन विभाग र नेपाल पर्वतारोहण संघले यस सिजनमा ७ हजारभन्दा बढी पर्यटकलाई आरोहणको अनुमति दिएका छन् ।

सेप्टेम्बरदेखि नोभेम्बरसम्म चल्ने यस सिजनको सुरुवाती दिनमा बर्षा र बढीपहिरोले पर्यटन आगमनमा कमी आए पनि पछिल्ला दिनमा पर्यटक आगमन बढ्दै गएको छ । अहिले दैनिक ३५ सय देखि ४ हजार पर्यटक नेपाल भित्रिइरहेका छन् ।

सरकारले नै लिएको १६ लाख पर्यटक भित्राउने लक्ष्य प्राप्त गर्न भने यो संख्या पर्याप्त छैन । नेपाल पर्वतारोहण संघले यो सिजनमा २६ वटा हिमाल आरोहणका लागि ६ हजारभन्दा बढी आरोहीलाई अनुमति दिँदा १९ करोडभन्दा बढी राजस्व संकलन गरेको छ । पर्यटक आगमन बढ्दा अहिले राजधानीका पर्यटकीय होटल औसत ८० प्रतिशत भरिएका छन् । पर्यटक आगमन बढ्दै गए पनि होटेल व्यवसायी भने क्षमता अनुसार पर्यटक नआएको बताउछन् ।

नेपालमा अहिले देशभर वार्षिक ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता रहेको व्यवसायीको दाबी छ । तर, सन् २०२४ को ९ महिनासम्म ८ लाख १६ हजार पर्यटकमात्र नेपाल भित्रिएका छन् । वसन्त र सरद ऋतुमा पर्यटक ८० प्रतिशत भरिने भए पनि नेपालको पर्यटनलाई बाह्रै महिना चलाउन नसक्दा होटेलको व्यापारमा असर गर्ने गरेको व्यवसायीको भनाइ छ ।

ट्राभल गाइड बुक प्रकाशन संस्था 'लोन्ली प्लानेट' ले हालै सार्वजनिक गरेको विश्वका उत्कृष्ट दश अतुलनीय गन्तव्यको सूचीमा नेपालको तराई क्षेत्रलाई राखेको छ । नेपालले यसको सदुपयोग गरेर बाह्रै महिना पर्यटक ल्याउन पहल गर्नु पर्ने देखिन्छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.