युक्रेनविरुद्ध लड्न उत्तर कोरियाली सेना रुसतर्फ पठाउन थालिएको दक्षिण कोरियाको दाबी

कार्तिक ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
युक्रेनविरुद्ध लड्न उत्तर कोरियाली सेना रुसतर्फ पठाउन थालिएको दक्षिण कोरियाको दाबी

काठमाडौं । उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न आफ्ना सेना रुसतर्फ पठाउन थालेको दक्षिण कोरियाको गुप्तचर निकाय-एनआईएसले दाबी गरेको छ ।

रुसको सुदूरपूर्वस्थित स्थानीय सैन्य अड्डामा तालिमका लागि उत्तर कोरियाले १५ सय विशेष सैन्य बल पठाइसकेको एनआईएसले जनाएको छ । ती सैनिकहरु युक्रेनविरुद्धको लडाइँमा छिट्टै तैनाथ गरिने सम्भावना रहेको बताइएको छ । एनआईएसले युक्रेनी गुप्तचर सेवासँग उक्त विषयमा संयुक्त रुपमा काम गरिरहेको र कृत्रिम बौद्धिकता प्रविधि प्रयोग गरेर उत्तर कोरियाली सैनिकहरुको पहिचान गरिएको बताइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले गुप्तचर सूचनाका आधारमा करिब १० हजार उत्तर कोरियाली सैनिक युक्रेनविरुद्धको युद्धमा सामेल हुन सक्ने विश्वास गरेको एक दिनपछि दक्षिण कोरियाले पछिल्लो दाबी गरेको हो ।

यसैबीच दक्षिण कोरियाले सैनिक पठाएको विषयमा ‘गम्भीर सुरक्षा खतरा’को चेतावनी दिएको छ । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले हिजो सुरक्षा बैठकको आह्वान गर्दै अन्तर्राष्ट्रिय समुदायलाई ‘सबै उपलब्ध साधनहरू’ मार्फत जवाफ दिनुपर्ने बताउनुभएको थियो ।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार उत्तर कोरियाले करिब १२ हजार सैनिक रुसतर्फ पठाउने छ । केही महिनाअघि रुसी राष्ट्रपति भ्लादिमीर पुटिन उत्तरी कोरियाको भ्रमणमा रहनुभएका बेला दुई देशमाथि कुनै पनि अन्य देशले आक्रमण गरेमा एकअर्कालाई मद्दत गर्ने विषयमा मस्को र प्योङयाङबीच ऐतिहासिक सम्झौता भएको थियो ।

त्यसलाई निरन्तरता दिँदै यस हप्ताको सुरुवातमा, पुटिनले उत्तर कोरियाली नेता किम जोन उनसँग गरेको सैन्य सम्झौतालाई अनुमोदन गरेपछि उत्तरले आफ्नो सेना रुसतर्फ पठाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै गत अगस्टदेखि अहिलेसम्म उत्तर कोरियाले रुसलाई १३ हजार कन्टेनरमा ८० लाख आर्टिलरी र रकेट पठाएको दाबी गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.