लेबनानमा युद्धविरामको सम्भावना रहे पनि गाजामा कठिन हुने अमेरिकी राष्ट्रपति बाइडनको भनाइ

इजरायलको पछिल्लो आक्रमणमा गाजामा ३० र लेबनानमा हिजबुल्लाहका ६० लडाकु मारिए
कार्तिक ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
लेबनानमा युद्धविरामको सम्भावना रहे पनि गाजामा कठिन हुने अमेरिकी राष्ट्रपति बाइडनको भनाइ

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन हिजबुल्लाहसँग लडिरहेको लेबनानमा इजरायलले ‘युद्धविरामको दिशामा काम गर्ने सम्भावना’ रहेको बताउनुभएको छ । तर हमास नेता याह्या सिनवारको मृत्यु भए पनि ‘गाजामा युद्धविराम कठिन हुने’ उहाँको भनाइ छ ।

जर्मनीको एक दिने भ्रमणमा पुगेका बाइडनले जर्मन, फ्रान्सेली र बेलायती नेताहरूसँगको भेटेवार्तापछि गाजामा युद्धविराम कठिन हुने प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हमासका नेता सिनवारको मृत्युले गाजामा युद्धविराम अन्त्यको केही चौथाई आशा जगाएको तर पूर्ण युद्ध विराम कठिन हुने संकेत उहाँले गर्नुभएको हो ।

त्यस्तै इरानको मिसाइल आक्रमणको जवाफ इजरायलले कसरी र कहिले दिने भन्ने प्रश्नको जवाफमा बाइडन सकारात्मक देखिए पनि विस्तृत बताउन अस्वीकार गर्नुभएको बताइएको छ ।

उता, इजरायलले भने गाजा आफ्नो आक्रमणलाई जारी राखेको छ । इजरायली सेनाले गाजाको जाबालियामा गरेको पछिल्लो आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । थुप्रै व्यक्ति घाइते भएको त्यहाँको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

इजरालयी सेनाले जाबालियासहित उत्तरी गाजाको दुई क्षेत्रको सञ्चार पूर्णरुपमा काटेको बताइएको छ । त्यस्तै हिजबुल्लाहतर्फ पनि इजरायली सेनाको आक्रमण जारी छ । गएराति इजरायली सेनाले हिजबुल्लाहको कमाण्ड सेन्टर लक्षित आक्रमण गर्दा ६० लडाकु मारिएको बताइएको छ ।

हिजबुल्लाहले पनि उत्तरी इजरायलीको आईफामा सयौँ रकेट प्रहार गरेको बीबीसीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.