काठमाडौं । अमेरिकाको चुनाव नजिकिँदै गर्दा रिपब्लिकन पार्टीको तर्फबाट उपराष्ट्रपतिका उम्मेद्वार जेडी भ्यान्स र डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेद्वार टिम वाल्जबीच आज बहस भएको छ ।
सीबीएस न्यूजले न्यू योर्कमा आयोजना गरेको उपराष्ट्रपति बहस नेपाली समय अनुसार पौने सात बजेबाट सुरु भएको थियो । उक्त बहस करिब ९० मिनेट चलेको थियो । दुवै उम्मेदवारले हात मिलाएर बहस सुरु गरेका थिए । दुवै उम्मेदवारले मध्यपूर्वमा भड्किएको युद्धदेखि अमेरिकी अर्थव्यवस्था, आप्रवासी नीति र जलवायु परिवर्तनका विषयहरुमा आफ्नो धारणा राखेका छन् ।
बहस सुरु भएलगत्तै वाल्जले राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसले मध्यम वर्गका लागि प्रस्ताव गरेको योजनाको समर्थन गर्दै पार्टीलाई मध्यम वर्गको चिन्ता रहेको बताउनुभएको छ । साथै उहाँले मध्यम वर्गका लागि कम ट्याक्स लगाउन प्रतिबद्धता जनाउनु भएको छ ।
इरानले इजरायलमाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेको भोलिपल्ट बहस भएको हो । प्रस्तोताले इरान हमलापछि इजरायलले प्रतिकार गर्ने चेतावनी दिएको विषयमा सोधिएको प्रश्नमा दुवै उम्मेदवार पन्छिएका छन् । वाल्जले राष्ट्रपतिका उम्मेदवार डनल्ड ट्रम्पको आलोचन गर्दै उहाँको खराब नेतृत्वका कारण इरान परमाणु हतियार बनाउन नजिक पुगेको आरोप लगाउनुभयो । उक्त विषयमा भने भ्यान्सले ट्रम्पको प्रशंसा गर्दै उहाँको नीतिका कारण विगतमा विश्वमा स्थिरता आएको बताउनुभयो ।
त्यस्तै जलवायु परिवर्तनको विषयमा भ्यान्सले किसानले जलवायु परिवर्तन साँच्चिकै रहेको र यो अहिलेका लागि अत्याधिक खतरा रहेको बताउनुभएको छ । भ्यान्सले ह्यारिसको आलोचना गर्दै जलवायु परिवर्तन साँच्चिकै खतरा रहेको बताए पनि किन उहाँले निर्माण व्यवसाय र इनर्जी सेक्टरलाई बढावा दिइरहेको भन्दै प्रश्न तेर्साउनुभयो ।
त्यस्तै भ्यान्सले ह्यारिसको आप्रवासी नीतिका कारण अमेरिकनहरुको जीवन खतरामा परेको बताउनुभएको छ । उक्त विषयमा वाल्जले यस्ता विषयका मुद्दाहरुलाई सुल्झाउनभन्दा पनि झन बिगारेका कारण जोखिम निम्तिएको भन्दै रिपब्लिकनमाथि आरोप लगाउनुभयो ।