इजरायलविरुद्धको लडाइँ लामो समयसम्म जारी रहने हिजबुल्लाहको भनाइ

आश्विन १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
इजरायलविरुद्धको लडाइँ लामो समयसम्म जारी रहने हिजबुल्लाहको भनाइ

काठमाडौं । इरानसमर्थित लडाकु समूह हिजबुल्लाहले इजरायलविरुद्धको लडाइँ जारी राख्ने जनाएको छ ।

आफ्ना प्रमुख हसन नसरुल्लाह इजरायली आक्रमणमा मारिएपछि पहिलो पटक आयोजित पत्रकार सम्मेलनमा हिजबुल्लाहका उपप्रमुख नइम कासिमीले आफूहरू पुनः संगठित हुने र इजरायलविरुद्धको लडाइ जारी राख्ने बताउनु भएको हो । उहाँले प्रमुखको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय चाँडै गरिने र आफ्नो समूह नै शक्तिशाली रहने समर्थकहरुलाई आश्वस्त पार्नु भएको छ । 

यो लडाइ लामो हुन सक्ने भएकाले धैर्य रहन पनि उहाँले आह्वान गर्नुभयो । 

यसैबीच इजरायलका रक्षामन्त्री योआभ ग्यालान्टले लेबनानी सीमानजिक रहेको आफ्नो सेनालाई जल, स्थल र हवाई आक्रमणका लागि तयारी गर्न निर्देशन दिनुभएको छ । इजरायली सेनाले एकै पटकमा गाजा, लेबनान र यमनमा आफ्नो आक्रमण जारी राखेको छ। 

पछिल्ला हवाई आक्रमणमा लेबनानी समूह हेर्ने हमासका शीर्ष नेतासमेत मारिएका छन् । त्यस्तै गएरातिको हवाई आक्रमणमा एक सय ५ जनाको मृत्यु भएको छ भने तीन सय ५९ जना घाइते भएको लेबनानी स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै बीबीसी जनाएको छ । 

इजरायलले हिजबुल्लाहलाई पूर्ण रूपमा ध्वस्त नपारेसम्म आफूहरूले आक्रमण जारी राख्ने बताएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement