आणविक हतियारको प्रयोग सम्बन्धी नियम परिवर्तन गर्ने रुसी राष्ट्रपति पुटिनको तयारी

युक्रेनले लामो दूरीको क्षेप्यास्त्र आक्रमण गरे आणविक हतियार प्रयोग गर्ने चेतावनी
आश्विन १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
आणविक हतियारको प्रयोग सम्बन्धी नियम परिवर्तन गर्ने रुसी राष्ट्रपति पुटिनको तयारी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशहरूमाथि आणविक हतियार प्रयोग गर्ने धम्की दिनुभएको छ । युक्रेनले रुसभित्र लामो दूरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र प्रयोग गर्न पश्चिमी देशहरूसँग अनुमति मागेको बेला पुटिनको यो चेतावनी आएको हो ।

पुटिनले मस्कोमा सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएर सरकारले आणविक हतियारको प्रयोगसँग सम्बन्धित नियम र सर्त परिवर्तन गर्न लागेको बताउनुभएको छ । उहाँले देशको आणविक नियममा धेरै नयाँ कुरा थपिने भन्दै रूसविरुद्ध मिसाइल वा ड्रोन हमलाविरुद्ध परमाणु हतियारको प्रयोग गर्ने विषय समावेश गरिने जानकारी दिनुभयो ।

रूसी क्षेत्रमा ठूलो मात्रामा मिसाइल वा ड्रोन आक्रमण भए यसले देशको सार्वभौमसत्तालाई गम्भीर रूपमा खतरामा पार्न सक्ने भन्दै राष्ट्रपति पुटिनले त्यस्तो अवस्थामा आणविक हतियार प्रयोग गरिने बताउनुभएको छ ।

आणविक हतियार नभएको मुलुकले रुसमाथि परमाणु हतियार भएको देशको सहयोगमा आक्रमण गरेमा त्यसलाई दुवै देशले आक्रमण गरेको मानिने उहाँले स्पष्ट पार्नुभएको छ ।

बेलायत र अमेरिकाले युक्रेनलाई लामो दूरीको मिसाइल उपलब्ध गराए पनि रुसभित्र मार हान्न अनुमति दिएका छैनन् । यही विषयलाई लिएर अमेरिका भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आज अमेरिको राष्ट्रपति बाइडेनसँग भेट्ने कार्यक्रम छ । 

वार्तामा जेलेन्स्कीले रूसमा लामो दूरीको मिसाइल प्रयोग गर्न अनुमति माग्न सक्ने बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement