काठमाडौं । अमेरिकी टेनिस संघले युएस ओपन आयोजना हुने न्यूयोर्कको बिली जिन किङ्ग नेशनल टेनिस सेन्टरमा ८ सय मिलियन डलर खर्च गर्दै खेल स्थलको स्तरोउन्नत्ति गर्ने घोषणा गरेको छ ।
यो परियोजनाअन्तर्गत प्रसिद्ध आर्थर एश स्टेडियममा नयाँ प्रवेशद्वार, दुई हजार नयाँ सिट र लक्जरी सुइटहरू थपिनेछन । साथै, दुई तले नयाँ 'प्लेयर परफर्मेन्स सेन्टर' पनि निर्माण हुनेछ । जसमा आधुनिक जिम, सुधारिएको भोजन क्षेत्र र स्पा-जस्तो चेन्जिङ रूम रहनेछन् ।
निर्माण कार्य चरणबद्ध रूपमा हुनेछ । यसका कारण २०२५ तथा २०२६ को युएस ओपन प्रभावित नहुने संघले जनाएको छ । सबै काम सन् २०२७ को युएस ओपनअगाडि सम्पन्न हुने लक्ष्य लिइएको छ ।
संघले यो परियोजना आफ्नै खर्चमा गर्ने बताएको छ । यसअघि पनि संघले ६ सय मिलियन डलरको पूर्वाधार विकास गरिसकेको छ । २०२४ मा युएस ओपनले कीर्तिमानी १० लाख दर्शक भित्र्याएको थियो ।