काठमाडौं । गृहमन्त्री रमेश लेखकले गोपनीयतासँग जोडिएका सूचनाहरू दिन जरुरी नरहेको बताउनुभएको छ ।
मंगलबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको मन्त्रालयस्तरीय सूचना अधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।
उहाँले संविधानले नागरिकलाई सूचनाको हकको अधिकार दिएको तर मुलुकको शान्ति सुरक्षा, मुलुकको प्रतिरक्षा, वैदेशिक सम्बन्ध, कुटनीतिक सम्बन्ध लगायतका सूचनाहरु दिन जरूरी नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले यी सूचनाहरू मुलुकको प्रतिरक्षासँग जोडिएकाले पारदर्शिता, सुशासनको नाममा सबै सूचना दिँदा मुलुक थितिमा बस्न नसक्ने जिकिर गर्नुभयो । उहाँले यसले मुलुकलाई अराजकतामा लैजाने बताउनु भयो । संविधानको व्यवस्थालाई सन्तुलित, विस्तारित र समग्रतामा बुझ्न जरूरी रहेको उल्लेख गर्नुभयो ।
गृहमन्त्री लेखकले सूचना नलुकाइकन दिन पनि आग्रह गर्नुभयो । सूचना लुकाउनुपर्ने भए गोपनियताको यस कारण दिन सकिएन भन्नेकुरा लेखेर दिन आग्रह उहाँले गर्नुभयो ।